काठमाडौं, १७ आषाढ । बुधबार पनि नेपालको सेयर बजारमा तेस्रो सकारात्मक सर्किट लागेको कारण डेढ घण्टा नपुग्दै बजार बन्द हुन गयो ।
बुधबार बजार खुलेदेखि नै निरन्तर उकालो लागेको बजार १३ मिनेटमा नै ४ प्रतिशले बढेपछि पहिलो सर्किट ब्रेकर लगाएर बजार २० मिनेट रोकिएको थियो ।
११ : ३३ मा दोस्रो पटक खुलेको बजार दुई मिनेटमा नै थप एक प्रतिशतले बढेपछि ११ : ३५ मा दोस्रो सर्किट ब्रेकर लगाउन पर्यो ।
४० मिनेटको सर्किट ब्रेकरपछि खुलेको बजार त्यसपछि पनि लामो समय टिकेन । बजार थप दुई प्रतिशतले बढेपछि बुधबारको सेयर कारोबार बन्द भयो ।
नेपाल धितोपत्र विनिमय केन्द्र लि. (नेपाल स्टक एक्सचेञ्ज लि)ले बजार ४ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लगाएर २० मिनेट कारोबार रोक्ने, ५ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक गरेर ४० मिनेट कारोबार रोक्ने र ६ प्रतिशतले बजार घटबढ भएका सो दिनको कारोबार रोक्ने नियम बनाएको छ ।
बुधबार नेप्से परिसूचक ७५.७७ अंकले बढेर १३३६.५२ विन्दुमा आइपुगेको छ ।
बुधबार १ सय ३५ कम्पनीको ११ लाख १ हजार २ कित्ता सेयरको किनबेचबाट ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैया बराबरको कारोबार भएको थियो ।
बुधबारको डेढघण्टा भन्दा कम समय खुलेको बजारमा धरै कम्पनीहरुको सेयर निरन्तर बढिरहेको थियो।
बुधबारसिटिजन्स बैंक इन्टरनेशनलको सेयरमा आज १० प्रतिशतको बृद्धिपछि सर्किट लागेको छ। त्यस्तै साना किसान विकास बैंक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडीसी, बुटवल पावर कम्पनी, गुरास लाइफ, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स र सिद्धार्थ बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारीले बढेको छ।
नेशनल माइक्रो फाइनान्स,ओरियण्टल होटल, नेपाल टेलिकम, गुहेश्वरी मर्चेण्ट,आइसीएफसी र बरुण हाइड्रोपावरको सेयर मूल्य घटेको छ।
होटलबाहेक सबै उपसूचक हरियो भएका छन्। बाणिज्य बैंक सूचक ८२ अंक माथि गएको छ। सर्वाधिक जीवन बीमा सूचक ५४८ अंकले बढेको छ।


















