काठमाडौं, २२ आषाढ । नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीको १४ औं महाधिवेशनको चौथो संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसले सावजनिक गरेको कार्यतालिका अनुसार माघ ६ गते प्रदेशस्तरीय अधिवेशन सम्पन्न हुनेछ र त्यसको एक महिनापछि फागुन ७ देखि १० सम्म राजधानी काठमाडौंमा १४ औं केन्द्रीय महाधिवेशन हुनेछ ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको पूर्व निर्धारित मिति यथावत राख्दै एकीकृत पार्टीहरुको समायोजन, नेपालको राजनीतिक र प्रशासनिक संरचना अनुरुप पार्टी संरचनाको समायोजन, कृयाशिल सदस्यता वितरण र अधिवेशनका कार्यतालिकाहरु भने हेरफेर गरेको छ ।
संशोधित कार्यतालिका
(क) समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि– २०७७ श्रावण १० गते भित्र ।
(ख) विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७७ असार २५ गतेदेखि
२०७७ श्रावण मसान्तसम्म ।
(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि – २०७७ भाद्र मसान्तसम्म ।
(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि – २०७७ असोज १५ गते भित्र ।
(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ असोज मसान्त भित्र ।
(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिइसक्नु पर्ने अवधि – २०७७ कात्र्तिक मसान्त भित्र
(छ) उजुरी/पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ मंसिर १५ गते भित्र ।
(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि – २०७७ मंसिर २५ गतेभित्र ।
(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७७ मंसिर मसान्त भित्र ।
अधिवेशन :
(क) गाउँ/नगर वडा अधिवेशन– २०७७ पुस ६ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७७ पुस ८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ पुस ११ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गत
(च) प्रदेश अधिवेशन– २०७७ माघ ६ गते
(छ) केन्द्रीय महाधिवेशन : २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।
संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको बिषयलाई पनि नेपाली कांग्रेसको बैठकले गम्भीरतापूर्वक लिएको छ । उसले भनेको छ, संसदमा विभिन्न महत्वपूर्ण विधेयक र प्रस्तावहरु विचारधीन रहेको तथ्यलाई नजरअन्दाज गरि, संसदको चालू बैठक आह्वान र अन्त्य गर्ने निश्चित पद्धति र परम्परा उल्लंघन गरेर अधिवेशन स्थगित गरिनु अत्यन्त आपत्तिजनक छ ।
कांग्रेसले सत्तारूढ दल नेकपाको आन्तरिक जीवनमा उत्पन्न द्वन्द्वसँग आफू निरपेक्ष रहेको बताउदै भनेको छ, गत निर्वाचनमा नेपाली जनताले दिएको म्याण्डेड बमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध छ । सत्ताद्वन्द संग नेपाली कांग्रेसलाई जोडेर गरिएका प्रचारहरुलाई यो बैठक सम्पूर्ण रुपले खारेज गर्दछ ।
सबै नेपालीको मुख्य खाद्य बाली धान रोप्ने समयमा नेपाली कृषकहरुले झेलिरहेको कोरोना र सलहको चुनौती तथा मल र बीउको अभावप्रति सहानुभूति दर्शाउदै नेपाली कांग्रेसले किसानहरुलाई तत्काल मल, बीउ उपलब्ध गराउन तथा कोरोना र सहलको कारण समस्यामा परेका कृषकलाई राहत प्याकेजको व्यवस्था गर्न पनि जोडदार माग गरेको छ ।
कांग्रेसले बाढी पहिरोको कारण घरवास तथा जग्गा जमीन गुमाएकाहरुलाई उचित राहत र क्षतिपूर्ति दिनका साथै जीवन गुमाएकाहरुको आफन्तलाई आर्थिक सहयोग दिन पनि सरकारसंग माग गरेको छ ।
राजधानी लगायत विभिन्न ठाउँमा आन्दोलनरत आम नागरिक, पत्रकार, विद्यार्थी, कर्मचारी, यातायात व्यवसायी, ट्याक्सी चालक, शिक्षक, स्वास्थ्यकर्मी लगायत विभिन्न संस्था र समुदायले राखेका मागहरुलाई तत्काल सम्बोधन गर्न पनि कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले कोरोना संक्रमण रोक्न सरकारले प्रभावकारी काम गरोस् भन्ने माग राखी केही दिनदेखि अनसनमा बसेका अनसनकारीहरुको मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेसले कोरोना रोगको रोकथाम,नियन्त्रण र संक्रमितको उपचारका सम्बन्धमा अबलम्बन गरेका कदमहरुको समीक्षा गरी संघीय संसद संसदीय दल, ७ वटै प्रदेश सभा संसदीय दल, ७७ वटै जिल्ला कार्यसमिति र विदेशस्थित ३५ नेपाली जनसम्पर्क समितिहरुले प्रभावकारी रुपमा काम गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको स्मरण गर्दै पार्टीले बनाएको अनुगमन समितिले गरेको प्रारम्भिक अनुगमनबाट प्राप्त सूचनाहरुका आधारमा यस घातक भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गर्नुपर्ने सुधारको सुझाव दिएको उल्लेख गरेको छ ।

कांग्रेसले वारेन्टाइन केन्द्रहरु मापदण्ड अनुरुप नभएसम्म संक्रमणको जोखिम झन बढ्ने भएकोले क्वारेन्टाइन केन्द्रहरु मापदण्ड अनुरुप संचालन गर्न र पिसीआर परिक्षण व्यापक बनाउन माग गरेको छ ।
त्यस्तै कोरोनाबाट कयौं नेपालीको मृत्यु भएको र हजारौं संक्रमित भएको तथ्यलाई गम्भीरतापूर्वक लिएर त्यसलाई रोक्न प्रभावकारी कदम चाल्न पनि काग्रेसले सरकारसग माग गरेको छ ।
कांग्रेसले सरकारलाई मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रलाई चलायमान बनाउन संकटका बेलामा समेत स्वास्थ्य सामाग्री खरीदमा अकूत कमाउन खोज्नेमाथि छानवीन गरी कारबाही चलाउन पनि माग गरेको छ ।
कांग्रेसले कोरोना रोगको विरुद्धको जनचेतना सबै नेपालीको मनमा अमिट भएर बस्ने ढंगले विकास गर्न उपयुक्त कदम चाल्न, विदेशमा अलपत्र परेका नेपालीलाई सर्वोच्च अदालतको आदेश मुताविक निशुल्क ल्याउन पनि माग गरेको छ ।
![]()
सोमबारको बैठकमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बैठकसँग सम्बन्धित प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो भने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्यहरुभीष्मराज आङ्दम्वे, डा. चन्द्र भण्डारी, पुष्पा भुसाल, मीन विश्वकर्मा, गगनकुुमार थापा, जीवन परियार, डा. डिला संग्रौला, बहादुर सिंह (लामा) तामाङ, अतहरकमाल मुसलमान, गोपाल दहित, योगेन्द्र चौधरी, आमन्त्रित सदस्यहरु— किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे, मनोहरनारायण श्रेष्ठ र शम्भुलाल श्रेष्ठले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।




















