सिबी अधिकारी
काठमाडौं, २९ आषाढ (रासस) । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३ सय ९६ नेपाली स्वदेश फर्किएका छन्।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन्।
लकडाउनको समयमा नेपाली र विदेशका विभिन्न वायुसेवाका विमानहरु चार्टर्ड गरेर युएईबाट ५ हजार ५ सय २६, कुवेतबाट ५ हजार २ सय ४३, साउदी अरेबियाबाट ४ हजार ३०, मलेसियाबाट ३ हजार ५३ र कतारबाट २ हजार ८ सय ८४ जनालाई स्वदेश ल्याइएको हो।
विदेशबाट नेपाल आइपुगेकाहरुमा प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका ७ हजार ६ सय ६०, प्रदेश नं १ का ५ हजार ४ सय ७८, प्रदेश नं ५ का ४ हजार ३ सय ४१, प्रदेश नं २ का ४ हजार ३ सय ४४, गण्डकी प्रदेशका ३ हजार ३ सय ५०, सुदूरपश्चिम प्रदेशका ६ सय ३७ र कर्णाली प्रदेशका ५ सय ८६ नेपाल फर्किएका छन्।
उद्धारका उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए।
गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो। यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन्।
नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो। पछिल्लो पटक जुलाई १२ तारिखसम्मको उडान तालिका सार्वजनिक गरी धमाधम चार्टर्ड उडान गरिरहेको छ । हिमालयले जुन १६ देखि जुलाई १२ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो।
सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो। सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजार स्वदेश फर्काउने निर्णय गरेको थियो। अझै प्राथमिकतामा पर्ने धेरै नेपाली विदेशबाट फर्कनुपर्ने अवस्था भएकाले मन्त्रालयले थप उडानको तालिका निर्धाण गरेको छ।
जुलाई २२ सम्म ४२ उडान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न मुलुकबाट गरिने उद्धार उडान जुलाई १२ अर्थात आषाढ २८ गतेसम्म निर्धारण गरेको थियो । यस बीचमा २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए। मन्त्रालयले आगामी जुलाई १५ देखि २२ अर्थात आषाढ ३१ देखि साउन ७ सम्मको थप चार्टर्ड उडान तालिका सार्वजनिक गरेको हो। यस अवधिमा ४२ वटा उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ।
मन्त्रालयले बनाएको उडान तालिकाअनुसार उसले जुलाई १५ मा दुबईमा दुई उडान गर्नेछ भने हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्नेछ। जुलाई १६ मा नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाम र कतारको रियादमा तीन तथा हिमालयले समान तीन उडान गर्ने तालिका छ।
त्यस्तै जुलाई १७ मा नेपाल एयरलाइन्सले कतारमा दुई र हिमालयले बहराइनमा दुई उडान गर्नेछन् । जुलाई १८ मा नेपाल एयरलाइन्सले दुबई र दोहामा चार उडान गर्नेछ । सोही दिन हिमालयले आबुधाबीमा दुई उडान गर्नेछ।
त्यसैगरी जुलाई १९ मा मलेसिया गन्तव्यमा ती एयरलाइन्सले दुईरदुई उडान गर्नेछन्। यसैगरी जुलाई २० मा तीनरतीन उडान गर्नेछन्। जुलाई २१ मा मलेसिया गन्तव्यमा दुई एयरलाइन्सले समान दुई उडान गर्ने तालिका सार्वजनिक गरिएको छ।
जुलाई १४ र १५ मा नेपाल एयरलाइन्सले संयुक्त राष्ट्रसङ्घको मिशनमा नेपाली सेना लैजानका लागि चार्टर्ड उडान गर्नेछ भने सोही अवधिमा कोरियन एयरले दक्षिण कोरियाको सिओलबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने जनाइएको छ।
सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउनेछ । सोही अवधिभर मालिन्दो एयरले पनि दैनिक दुई उडान गर्नेछ।
पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन र हिमालयलाई दुई उडान अनुमति दिएको थियो।
कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन्। यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन्।
अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ वटा चार्टर्ड उडान हुँदै आएका छन् । असार महिनामा धेरै सङ्ख्यामा उडान भएको विमानस्थलको विवरण छ । यही असार १२ गते एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो । यसअघि असार १० र ११ मा दैनिक १५ उडान भए । शनिबार पनि एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो।


















