काठमाडौं, ७ साउन । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा थप एक सय व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ९४ र कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ।
सङ्क्रमितहरूमध्ये १२ हजार ६ सय ८४ जना भाइरसमुक्त भएर घर फर्किएका छन् ।
विगत २४ घण्टामा २ सय ७ जना निको भएर घर फर्किएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार अहिले सङ्क्रमण भएका कुल ५ हजार ३ सय ७० जना आइसोलेशनमा रहेका छन्।
नेपालमा गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।

मङ्गलवार १ सय ५० जनामा सङ्क्रमण देखिएको मन्त्रालयल पुष्टि गरेको थियो।
भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।
को हुन् मृतक
मृतकमध्ये एक धनुषाका ६० वर्षीय पुरुष र अर्की पोखरामा एक वर्षदेखि व्यापार गरिरहेकी एक ४९ वर्षीया चिनियाँ महिला भएको मन्त्रालयले जनाएको छ।
धनुषाका ती व्यक्तिलाई खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत साता साउन २ गते भर्ना गरिएको थियो । उनलाई सघन उपचार कक्षमा भेन्टिलेटरमरा राखी उपचार गर्दागर्दै साउन ६ गते साँझ मृत्यु भएको थियो।
मरणोपरान्त गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
पोखरामा भएकी चिनियाँ नागरिकलाई मिर्गौला र मुटुसम्बन्धी समस्या देखिएपछि मणिपाल अस्पतालमा भर्ना गरिएको र थप उपचारका लागि साउन २ गते हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको जानकारी मन्त्रालयले दिएको छ।
उपचारका क्रममा परीक्षण गर्दा उनमा कोभिड १९ पुष्टि भएको थियो। थप उपचारका लागि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
तर उपचारका क्रममा उनको साउन ७ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ७९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म ३ लाख २७ हजार ६ सय १४ जनाको पीसीआर परीक्षण गरिएको छ।
अहिले पुष्टि भएका सङ्क्रमितमध्ये सप्तरीका १८, दैलेखका १६ र लमजुङ तथा डोटी जिल्लाका ७ । ७ जना छन्।
त्यसैगरी काठमाण्डौमा पनि तीन सङ्क्रमित थपिएका छन्।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
साउन ७ गते बुधवार अपराह्णसम्मको तथ्याङ्क
- १८,०९४ कुल सङ्क्रमण
- २०७ विगत २४ घण्टामा घर फिर्ता
- विगत २४ घण्टामा पीसीआर परीक्षण ३,७७९
- सक्रिय सङ्क्रमित ५,३६८
- देशभरि क्वारन्टीनमा २०,८४२
- अहिलेसम्म निको १२,६८४
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
अहिले देशभरिका क्वारेन्टाइनमा मानिसको सङ्ख्या २० हजार ८ सय भन्दा बढी छ।
अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारेन्टाइनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।
अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।
अहिले प्रदेश नं १ मा ११९, प्रदेश नं २ मा १ हजार ८ सय ७८, वाग्मतीमा ४ सय २०, गण्डकीमा ३ सय ८९, प्रदेश नं ५ मा ३ सय ४५, कर्णालीमा २ सय ९० र सुदुरपश्चिममा १ हजार ९ सय २७ जना सङ्क्रमित आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार अहिले रौतहट, कैलाली र बाजुरामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा बढी छ।
भोजपुर, पाँचथर, सङ्खुवासभा, धनकुटा, रसुवा, मनाङ र मुस्ताङमा भने सङ्क्रितको सङ्ख्या शून्य छ।
(बीबीसी नेपाली न्युजबाट)


















