Prakash Adhikari July 30, 2020

 

सानेपा(ललितपुुर), १५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४ औं महाधिवेशन निष्पक्ष हुने प्रत्याभूति गर्न आग्रह गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ ।

नेपाली कांग्रेसको वी.पी. स्मृतिनगर, सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बुधबार बसेको पौडेल समूहको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार ‘महाधिवेशनको तिथि मिति निर्धारित भई सबै तहको निर्वाचन तालिका सार्वजनिक भैसकेपछि महाधिवेशनलाई प्रभावित पर्ने तरिकाले पार्टीका गतिविधि सञ्चालन भैरहेको देखिएकोले त्यसालई सभापतिको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको बतानुभएको छ ।

काठमाडौंमा उपलब्ध पौडेलपक्षीय केन्द्रीय सदस्य सहभागी रहेको बैठकले पार्टी सभापति देउवाले पार्टी मनोमानी ढंगले चलाएको आरोप लगाउदै महाधिवेशनलाई प्रभावित पार्न पार्टीको विभाग र केन्द्रीय समिति गठन गर्नुको अलवा पार्टी प्रवेशका श्रृखलाबद्ध कार्यहरु गरिएको आरोप लगाएको छ ।

बुधबारको बैठकमा कांग्रेसका वरिष्ठ नेता पौडेल, निर्वाचित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नवीन्द्रराज जोशी, किरण यादव, सरिता प्रसाई, चन्द्र भण्डारी, बद्री पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

पार्टीका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले निर्वाचनको मुखमा पार्टीका विभाग तथा समितिमा भइरहेका मनोनययन, पार्टीमा छलफल र सहमति समेत कायम नगरिकना नवप्रवेशीहरुलाई सहमहामन्त्रीसहित ७ केन्द्रीय सदस्य दिने निणर्य , विदेशस्थति जनसम्पर्क समितिमा गर्न खोजिएको फेरबदल लगायतका विषयमा छलफल भएको थियो । पौडेलपक्षीय नेताहरुले लोकतान्त्रिक पद्धति अनुसार पहिले बिषयवस्तुमा छलफल गरी निर्णय पछि कार्यान्वयन गर्नुपर्नेमा पहिले आफूखुसी निर्णय गरेर पार्टीको केन्द्रीय कार्यसमितिलाई सभापतिका लहडी निर्णय अनुमोदन गराउने निकायमा रुपान्तरित गरेर केन्द्रीय समितिको गरिमा घटाएको पनि आरोप लगाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री रहिसक्नुभएका सुनिल थापासहित सो पार्टी परित्याग गरेर नेपाली कांग्रेस भित्रिएका नेताहरुको प्रवेशले आगामी १४ औं महाधिवेशनमा देउवा पक्षलाई कम्तिमा ५० । ६० मतको लाभ हुने देखिएको छ ।

यस कदमले प्रदेश १ मा कमजोर देखिएको सभापति देउवा पक्षको स्थिति केही बलियो समेत बन्न जाने छ । नेपाली कांग्रेसका संस्थापक नेता वि.पी.कोइरालाको विरासत बोकेको प्रदेश १ मा सभापति देउवाको पक्ष कमजोर मानिन्छ । आफ्नो स्थिति बलियो बनाउन सभापति देउवाले प्रदेश १ बाटै पार्टीका प्रवक्तामा विश्वप्रकाश शर्मालाई ल्याउनु भएको छ । २०७४ असोजमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा विलय गराएपछि त्यसको लाभ पनि देउवालाई भाएको छ । प्रदेश १ मा आफ्नो स्थिति बलियो बताउनका लागि सभापति देउवाले सुनसरीका राजीव ढुंगानालाई नेपाल विद्यार्थी संघको सभापति मनोनयन गर्नुभएको छ ।

केही दिन पहिले महिला विभाग र केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरु मनोनयन गर्नुभएका पार्टी सभापति देउवाले बुधबार नै ४ सय ७९ सदस्यीय ज्येष्ठ नागरिक सभा गठन गर्नुभएको छ । यहि गतिमा अन्य विभागहरुको गठन भएमा कांग्रेसको चुनावी नतिजा क्रियाशील सदस्यता वितरणपूर्ण नै घोषणा गरे हुने अवस्था आउने देखिन्छ ।

नेपाली कांग्रेसको संस्थापन विरोधी समूहले साउन २ गते पार्टी विधानको परिच्छेद–१२ को दफा ६० लाई उद्घृत गर्दै निर्वाचन आचार सहिताको मर्म र लोकतान्त्रिक पद्धतिको मर्म अनुरुप पार्टी सञ्चालन गरी आगामी महाधिवेशन निष्पक्ष रुपमा सम्पन्न गर्न निर्वाचनलाई प्रभावित गर्ने गरि भएका मनोनयनहरु खारेजीको माग राखी पार्टीको निर्वाचन समितिमा उजुरी दिएको थियो।

बुधबारको भेलाले महाधिवेशनमा कुनै एक गुटलाई फाइदा पुग्ने हिसाबले पार्टीका गतिविधि सञ्चालन नगर्न चेतावनी दिंदै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउने कार्यको जिम्मेवारी वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिएको छ। वरिष्ठ नेता पौडेलले बिहिबार नै त्यस्तो ज्ञापन पत्र बुझाउने तयारी गर्नुभएको छ ।

Share Now

Leave a comment.