Prakash Adhikari September 6, 2020

ब्रायन लारा स्टेडियम(ट्रिनिडाड एण्ड टोबाको), २१ भाद्र । क्यारेबियन प्रिमियर लिग २०२० (सीपीएल- २०२०) अन्तर्गत आफ्नो नवौं खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज बार्बाडोस ट्राइडेन्ट्ससंग ७ विकेटले पराजित भएको छ । यससंगै सन्दीपको टोलीले सेमिफाइनलमा हालसम्म अपराजित यात्रा कायम राखेको ट्रिन्बागो नाइट राइडर्ससंगको भेट पक्का गरेको छ ।

सीपीएलको सेमिफाइनलमा पहिलो चरणमा शीर्ष स्थानमा रहेको र चौथो स्थानमा रहेको टीम तथा दोस्रो र तेस्रो स्थानमा रहेको टिमका बीचमा प्रतिस्पर्धा हुने भएकोले सन्दीपको टिमले शीर्ष स्थानमा रहेको ट्रिन्बागो नाइट राइडर्ससंगको भेट पक्का गरेको हो । गत रातिको खेल जितेको भए सन्दीपको टीम तेस्रो स्थानमा उक्लने संभावना थियो । अब बाँकी रहेको एक खेल जिते पनि सन्दीपको टिम तेस्रोमा उक्लन सक्दैन् ।

Caribbean Premier League

बार्बाडोससंग दोस्रो पराजय

ब्रायन लारा स्टेडियम ट्रिनिडाडमा सम्पन्न गए रातिको खेलमा जमैकेले दिएको १ सय ६२ रनको लक्ष्य बार्बेडोसले १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो।

बार्बेडोसको जितमा कप्तान जेसन होल्डरको प्रमुख भूमिका रह्यो । उनले शानदार ब्याटिंग गर्दै ९ चौका र ३ छक्काको मद्दतले ६९ रन बनाए । यस्तै जोनाथन कार्टरले ४ चौकाको मद्दतले ४४ बलमा अविजित ४२ रन बनाए। मिचेल स्यान्टनरले २१ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ३५ रन बनाए।

१७ रनमा २ विकेट गुमाएको अवस्थामा तेश्रो विकेटको लागि होल्डर र कार्टरले ८० रनको साझदारी गरेका थिए। होल्डरलाई सन्दिप लामिछानेले १३ औं ओभरमा एलबिडब्लु आउट गरेर साझेदारी तोडेपछि पनि कार्टरले एक किनार सम्हालीरहे र स्यान्टनरसंग अविजित ५२ रनको साझेदारी गर्दै टिमलाई विजयी बनाए ।

बार्बाडोसलाई रोक्ने क्रमा जमैकाको बलिंगमा ओशेन थोमस, प्रेस्टन म्याकस्विन र सन्दिप लामिछानेले समान १ ।१ विकेट लिए। मुजिब उर् रहमान लगातार तेश्रो खेलमा विकेटविहिन रहे।

रसेल र ब्ल्याकवुडको अर्धशतक

यस अघि टस जितेर ब्याटिंग रोजेको जमैकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो। उसको लागि ओपनर जर्माइन ब्ल्याकवुडले सीपीएलकै पहिलो अर्धशतक बनाउने क्रममा सर्वाधिक ७४ रन बनाए त्यसक्रममा ५९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

यस्तै आन्द्रे रसेलले आक्रामक ब्याटिंग गर्दै २८ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५४ रन बनाए। ग्लेन फिलिप्सले १७ रन बनाए।

बार्बेडोसको लागि जेसन होल्डर, जोशुवा बिशप , राशिद खान र हेडेन वालशले समान १। १ विकेट लिएका थिए।

अब आज राति१२ बजे सन्दीपआबद्ध जमैकाले सेन्ट लुसिया जुक्स बिरुद्ध अन्तिम लिग खेल खेल्नेछ त्यसपछि सेप्टेम्बर ८ तारिख राति ट्रिनबागोसंग सेमीफाइनल खेल्नेछ।

दोश्रो सेमिफाइनामा सेप्टेम्बर ९ तारिख बिहान सेन्ट लुसिया जुक्स र गुयना अमेजन वारियर्सले प्रतिस्पर्धा गर्नेछ।
बार्बाडोस र सेन्ट किट्स लिग चरणबाट अघि बढ्न असफल भैसकेका छन्।

सन्दीपको एक विकेट र कसिलो बलिड.

लिगमा लगातार नवौं खेलमा पनि नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो प्रदर्शनको स्तर घट्न दिएका छैनन् । उनले ४ ओभर बलिड. गर्दै एक विकेट लिएर र सो क्रममा प्रतिस्पर्धी टिमका खेलाडीलाई २६ रन बनाउने मौका दिए। सन्दीपले बार्बेडोस तथा वेस्टइन्डिज टिमका वर्तमान कप्तान जेसन होल्डरको विकेट लिएका थिए।

नवौं ओभरमा पहिलो स्पेल लिएर मैदानमा आएका सन्दिपले सो ओभरमा ९ रन बनाउन दिए ।

एघारौं ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीपले यो ओभरमा झनै कसिलो बलिड. गरे । ३ बल डट फालेका उनले बाँकी ३ बलमा पनि एक एक रनबाहेक जोड्न दिएनन् ।

१३ औं ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपले तेश्रो बलमा बार्बाडोसका कप्तान जेसन होल्डरको विकेट लिंदै होल्डर र कार्टर बीचको महत्वपूर्ण ८० रनको साझेदारी तोडे र जमैकालाई खेलमा फर्काए।
६९ रन बनाएका होल्डरलाई ओभरको तेश्रो बलमा सन्दिपले एलबिडब्लु धरापमा पारे। यस ओभरमा सन्दीपले मात्र ५ रन खर्चिए।

पन्ध्रौ ओभरमा आफ्नो अन्तिम स्पेल लिएर आएका सन्दीपले पहिलो बलमै मिचेल स्यान्टनरको छक्काको स्वागत पाए पनि उनले यस ओभरमा दुुई बल डट फालेर जम्मा १० रन बनाउन दिए ।

हालसम्म नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने सीपीएल २०२० मा सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप चौथो स्थानमा कायम रहेका छन् । उनले हालसम्मका नौ खेलमा ११ विकेट लिएका छन् ।उनीसंगै चौथो नभिन उल हक, राशिद खान, केसरिक विलियम्स र मोहम्मद नाबी पनि रहेका छन्। लिगमा सबैभन्दा धेरै विकेट इमरान ताहिरले १५ विकेट लिएका छन्। दोश्रो धेरै स्कट कग्लेजिनले १४ तथा मुजिब उर् रहमानले १३ विकेट लिएर तेस्रो स्थान सुरक्षित गरेका छन्।

Share Now

Leave a comment.