काठमाडौं, २ असोज । निर्जीबन बीमाको कारोबार गर्ने जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले प्रति कित्ता एक सयका दरले ३० करोड रुपैयाको ३० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा ७० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ २३ पैसा छ। कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।


















