Prakash Adhikari September 29, 2020

 

दुबाई(संयुक्त अरब इमिरेट्स), १३ असोज । चर्चित भारतीय टी २० क्रिकेट लिग मानिएको इण्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं संस्करण अन्तर्गत सोमबार राति भएको १० औं खेलमा सुपर ओभरमा मुम्बई इण्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले बिजय हासिल गरेको छ।

पहिले ब्याटिंग गर्दै बैंगलोरले २ सय १ रन बनाएर प्रतिस्पर्र्धी मुम्बईलाई २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर लक्ष्य पछ्याउने क्रममा मुम्बईले ५ विकेट गुमाएर २ सय १ रन बनाएपछि खेल बराबरीमा पुगेको थियो।

Image
रन बराबरी भएर सुपर ओभरमा पुगेको खेलमा थपिएको एक ओभरमा मुम्बईले पहिले ब्याटिंग गर्दै दिएको ८ रनको लक्ष्य बैंगलोरले छैठौ बलमा जितेको हो।

१३ औं संस्करणको आईपीएलका १० खेल सुपर ओभरमा गएको यो दोस्रो पटक हो । यस अघि किंग्स् ११ पञ्जाब र दिल्ली क्यापिटल्सको खेल सुपर ओभरमा पुग्दा दिल्ली विजयी भएको थियो।

मुम्बईको प्रदर्शन

यस अगाडि रोयल च्यालेञ्जर्स बैगलोरले दिएको २ सय २ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईका इशान किसनले ९९, कैरन पोलार्डले ६०, हार्दिक पाण्डेयले १५ ,क्विन्टन डे कमले १४ र क्याप्टेन रोहित शर्माले ८ रन बनाएका थिए ।

Image
मुम्बईलाई रोक्ने क्रममा बैंगलोरका इसुरु उडानाले २ विकेट तथा वासिंगटन सुन्दर , युजभेन्द्र चाहल र एडम जाम्पाले समान एक एक विकेट लिए।

बैंगलोरको ब्याटिड.

यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रनको योगफल बनाएको थियो।

बैंगलोरका लागि एबी डे भिलियर्सले ५५, देवदत्त पडिक्कलले ५४, आरोन फिन्चले ५२, शिभम दुबेले २७ र क्याप्टेन बिराट कोहलीले ३ रन बनाए ।

बैंगलोरलाई रोक्ने क्रममा मुम्बईको बलिंगमा ट्रेन्ट बोल्ट २ विकेट लिए भने राहुल चाहर १ विकेट लिए।

यस अगाडिका खेलमा मुम्बई पहिलो खेलमा चेन्नाईसंग ५ विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा कोलकातालाई ४९ रनले पराजित गरेको थियो।

बैंगलोरले पहिलो खेलमा हैदरावादलाई १० रनले पराजित गर्दा दोश्रो खेलमा पञ्जाबसंग ९७ रनले पराजित भएको थियो।

Image

अंक तालिकामा २ जित र १ हार सहित ४ अंक रहेको बैंगलोर तेश्रो स्थानमा पुगेको छ। समान अंक रहे पनि दिल्ली र राजस्थान नेट रन रेटमा अघि रहेको छन्। मुम्बई ३ खेलमा २ हार र १ जित पछि २ अंक सहित पाँचौ स्थानमा झरेको छ।

लिग अन्तर्गत बैंगलोरले आगामी खेल राजस्थान बिरुद्ध शनिबार ( अक्टोबर ३ )मा खेल्नेछ। मुम्बईले आगामी खेल बिहिबार ( अक्टोबर १ ) पञ्जाबबिरुद्ध खेल्नेछ।

मंगलबारको खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच हुँदैछ। शेख जायद स्टेडियम, अबुधाबीमा हुने खेल राति ७ : ४५ बजे सुरु हुनेछ। दिल्लीले खेलेको दुवै खेलमा जित हात पार्दा हैदरावाद दुवै खेलमा पराजित भएको छ। यस अगाडिका दुवै खेलमा मौका नपाएका नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले आज अवसर दिन्छ कि दिंदैन नेपाली क्रिकेटप्रेमीहरुले बडो अधैर्यका साथ हेरिरहेका छन् ।

Share Now

Leave a comment.