Prakash Adhikari October 17, 2020

 

काठमाडौं, १ कार्तिक । सरकारले गत हप्ता मापदण्ड तयार गरेपछि कोरोनाभाइरस सङ्क्रमित सिकिस्त बिरामीलाई सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन हवाई सेवाको बाटो खुलेको छ।

‘जीवन सुरक्षाका निम्ति छिटोछरितो माध्यमबाट विमान (हवाई जहाज / हेलिकोप्टर /एयर एम्बुलेन्स)मार्फत् एयर लिफ्टिङ गर्नुपर्नुु खाँचो देखेर मापदण्ड तयार गरिएको बताइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचीकृत गरेका निजी विमान सञ्चालक कम्पनीले जनस्वास्थ्यका मापदण्ड अपनाएर बिरामी ओसारपसार गर्न पाउने व्यवस्था छ।

मापदण्डमा नेपाली सेनाका विमान प्राथमिकता दिई ‘स्वास्थ्य मन्त्रालय र सेनाको समन्वयमा जति सक्दो छिटो बिरामीलाई एयर लिफ्टिङ गर्ने व्यवस्था मिलाउने’ भनिएको छ।

तर सरकारले प्राथमिकता दिए पनि सेनाभन्दा निजी विमान कम्पनी अगाडि देखिएका छन्।

सेनाभन्दा सिम्रिक अगाडि

नेपालमा करिब एक दर्जन हेलिकोप्टर सेवा सञ्चालक छन् र तिनमा सिम्रिक एयरले बिरामी बोक्न सबैभन्दा अगाडि देखिएको छ।

सिम्रिक एयर हेलिकोप्टरका प्रमुख कार्यकारी बजार अधिकृत योगेश सापकोटाका अनुसार मङ्गलवार मन्त्रालयबाट अनुमति पाएकै दिनदेखि सिम्रिकको हेलिकोप्टरले बिरामी बोक्न थालिसकेको छ।

सापकोटाले भन्नुभयो, ‘हामी पहिल्यैदेखि तयारी अवस्थामा सरकारको स्वीकृतिको पर्खाइमा थियौँ, अनुमति पाउने बित्तिकै सुरु गर्‍यौँ।’

पहिलो बिरामी बुटवलबाट काठमाडौं पुर्‍याएको सिम्रिकले लहान, भरतपुर र बिराटनगरबाट पनि बिरामी बोकिसकेको छ।

राष्ट्रिय विपद्‌मा प्रयोग हुने नेपाली सेनाका विमानहरूले अझैँ बिरामी बोकेका छैनन्।

सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेल भन्नुहुन्छ, ‘स्वास्थ्य मन्त्रालयको मापदण्डका प्रभावबारे अध्ययन गरिरहेका छौँ, त्यसबारे निचोडमा पुग्न सम्बन्धित निकायसँग समन्वयको चरणमा छौँ।’

स्वास्थ्यकर्मी

पहिल्यैदेखि निजीको चासो
सिम्रिक एयरले पाँचमध्ये दुईवटा हेलिकोप्टर बिरामी ओसार्न परिचालन गर्ने जनाएको छ।

सापकोटा भन्नुहुन्छ, ‘माग एकदमै उच्च छ। अब केही दिनमै दोस्रो हेलिकोप्टर पनि प्रयोगमा ल्याउँछौँ।’

यसअघि प्रदेश २ बाट स्वासप्रश्वासका बिरामी हेलिकोप्टर भाडामा लिएर काठमाडौं पुगेका समाचारहरू आएका थिए।

तर सामान्य अवस्थाको जस्तो उडान गरेर सङ्क्रित बोक्न नपाइने व्यवस्था थियो। त्यसको निम्ति पीसीआर परीक्षण नेगटिभ हुनुपर्ने पनि भनिएको थियो।

लकडाउन र सङ्क्रमणले थलिएको निजी हवाई सेवा सञ्चालक कम्पनीले त्यस्तो माग बढेपछि बिरामी बोक्न मापदण्ड तयार गरिदिन सरकारमाथि दबाव दिइरहेका थिए।

त्यसमध्येको एक सिम्रिक एयरले पहिल्यैदेखि तयारी गरेको तत्कालै बिरामी ओसार्न सकेको हो।

सिम्रिकका सापकोटा भन्नुहुन्छ, ‘कुनै पनि बेला देशलाई आवश्यकता हुनसक्छ भनेर उपकरणहरू राखेर एक(डेढ महिनादेखि अभ्यासमा थियौँ, सरकारलाई पनि भनिरहेका थियौँ, अनुमति पाएकै दिनदेखि सुरु गर्‍यौँ।’

मापदण्ड

भाडा भने महङ्गो

मापदण्ड अनुसार विमान कम्पनीले नै एकजना चिकित्सकसहित कम्तीमा दुईजना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्छ।

अक्सिजन, जीवन सुरक्षाका औषधि, पीपीई र डिसइन्फेक्टर लगायतको व्यवस्था विमानमा हुनुपर्छ। र, दोस्रो उडान गर्नुअघि विमान निसङ्क्रमण गर्नुपर्छ।

सिम्रिकले आइशोलेसन च्याम्बर पनि चीनबाट आयात गरेर हेलिकोप्टरमा राखेर उडान गर्ने गर्छ। स्वास्थ्य सुरक्षाका दृष्टिकोणले ती सबै व्यवस्था गर्नुपर्ने भएकाले सेनाले उच्च निकायसँग परामर्शको खाँचो देखेको बुझिन्छ।

मापदण्डमा भाडा बिरामी पक्षको हुने उल्लेख छ तर ‘निश्चित तोकिएको प्रचलित शुल्कभन्दा बढी भाडा लिन नपाइने’ भनिएको छ।

तर सिम्रिकका हेलिकोप्टरका सापकोटाले सामान्यतया करिब दुई लाख ५० हजार रुपियाँ भाडा बढी लिइरहेको जानकारी दिनुभयो।

विभिन्न स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था तथा बीमा लगायतले गर्दा भाडा महङ्गो पर्न गएको उहाँको भनाइ छ।

जे भएपनि त्यो सरकारको घोषित नीतिविपरीत रहेको बताउने प्रधानमन्त्री कार्यालयकै एक उच्च अधिकारीका भनाइमा मन्त्रालयको मापदण्ड व्यवहारिक नहुँदा अनुगमनप्रति चासो नराखिएको हुनसक्छ।

सापकोटाका अनुसार अधिकांश बिरामी काठमाडौंका सुविधासम्पन्न अस्पतालमा भर्ना हुन आउन चाहन्छन्।

तर सङ्क्रमण बढ्दै गए काठमाडौंकै बिरामीको निम्ति अस्पतालको क्षमता नपुग्ने चेतावनी सरकारले दिइसकेको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले धेरै र राम्रा स्वास्थ्य पूर्वाधार भएका स्थानका अस्पतालमा उपचारको सेवा उपलब्ध गराउन हवाई उडानसम्बन्धी मापदण्ड बनाइएको बताउनुभयो।

काठमाडौंलाई मात्र लक्षित गरेर त्यसो नगरिएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, ‘त्यो त हिमाली वा पहाडी जिल्लाहरूबाट अन्य सहरी क्षेत्रका अस्पताल जान चाहने बिरामीका निम्ति पनि हो।’

उपचार भइरहेको अस्पतालका चिकित्सकले बिरामीको अवस्था हेरेर बाहिर लग्न सिफारिस गर्नुपर्ने मापदण्डमा उल्लेख छ।(बीबीसीबाट)

Share Now

Leave a comment.