काठमाडौं, ५ कार्तिक । मनास्लु र लोबुचे हिमालको सफल आरोहण गरेर राजधानी फर्कनुभएका बहराइनका राजकुमार सेख नसिर मोहम्मद हमाद मोहम्मद अली खलिफाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गर्नुभएको छ ।
राजकुमार खलिफाले नेपाल पर्वतारोहण संघद्धारा उहाँको सम्मानमा सोमबार साँझ आयोजना गरेको विशेष कार्यक्रममा सो घोषणा गर्नुभएको हो ।
“नेपाल साच्चै सुन्दर रहेछ । यहाँको सौन्दर्यले मलाई मोहित गरेको छ । मलाई विश्वको सर्वोच्च शिखर सगरमाथा पनि चढ्ने इच्छा जागेको छ ।”, नेपाल पर्वतारोहण संघले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “आशा छ, यो इच्छा छिट्टै पूरा हुनेछ ।”
राजकुमारले सन् २०२१ को स्प्रिङ सिजनमा सर्वोच्च शिखर सगरमाथामा बहराइनको झन्डा फहराउने लक्ष्य राख्नुभएको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका अनुसार लोबुचे र मनास्लुको आरोहण सगरमाथा आरोहणको तयारी स्वरूप गरिएको हो ।

राजकुमार खलिफा उहाँको आरोहण दलका अधिकांश सदस्यहरुले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल गत बिहीबार बिहान ६ बजेर १० मिनेटमा सफल आरोहण गरेको थियो ।
कार्यक्रममा राजकुमार खलिफाले लोबुचे र मनास्लु आरोहणलाई सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिंदै सगरमाथाको चुचुरामा बहराइनको झण्डा फहराउने विश्वास व्यक्त गर्नुभएको थियो।
सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल पर्वतारोह संघका अध्यक्ष सन्तबीर लामाले राजकुमार खलिफालाई उहाँ र उहाँको आरोहण दलले मनास्लु र लोबुचेको सफल आरोहण गरेकोमा हार्दिक बधाई ज्ञापनसहित सम्मान प्रकट गर्दै भन्नुभएको थियो,‘हामी तपाईलाई २०२१ मा सगरमाथा आरोहणमा स्वागत गर्न चाहन्छौँ र सफलताको शुभकामना दिन चाहन्छौँ ।’

कोरोना भाइरसको विश्वव्यापी महामारीका बेलामा पनि अदम्य साहस लिएर नेपालको हिमाल आरोहण गर्ने लक्ष्य हासिल गरी पर्वतारोहण पर्यटनको सकारात्मक सन्देश विश्वभर पुर्याउन योगदान दिनुभएका राजकुमार खलिफा र उहाँको आरोहण दललाई सम्मानित गर्न संघका अध्यक्ष सन्तवीर लामा र महासचिव कुलबहादुर गुरुङसहित संघका पदाधिकारीहरु आरोहण दलका सदस्यहरू बसेको गोकर्ण फरेष्ट रिसोर्टमा पुगेर राजकुमार र आरोहण दलका सदस्यहरूलाई सम्मानित गर्नुभएको थियो।
विश्वको आठौँ उच्च शिखर मनास्लुको आरोहणमा राजकुमारको १८ जनाको टोलीलाई पर्वतारोहणका उत्कृष्ट चार जना विश्व कीर्तिमान कायम गर्नुभएका आरोहीहरुले गाइड गर्नुभएको थियो । जसमा २४ पटक सगरमाथाको आरोहण गर्नुभएका कामी रिता शेर्पा, संसारका ८ हजार मिटर भन्दा माथिका १४ वटै हिमाल आरोहण गरेका मिङ्मा र छाङदावा शेर्पा तथा सबैभन्दा कम उमेरमा विना अक्सिजन सगरमाथा आरोहण गरेका टासी लाक्पा शेर्पा संलग्न हुनुहुन्थ्यो ।
नेपालमा पनि कोरोनाका कारण लकडाउन र निषेधाज्ञा जारी भएपछि यस वर्षको पहिलो आरोहणको सुरुआत बहराइनका राजकुमार खलिफासहितको टोलीले गरेको हो । राजकुमारको टोलीले १७ असोजमा लोबुचे हिमाल आरोहण गरेको थियो ।
लोबुचे हिमालको सफल आरोहण गरेपश्चात् राजकुमार नासिर बिन हामिद अल खलीफासहितको टोलीले ८ हजार १ सय ५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेको थियो।

राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको थियो । नेपालको हिमाल आरोहणका लागि बहराइन राजकुमार नासिर बिन हामिद अल खलीफासहित १५ जना र ३ जना बेलायतका गरी १८ जनाको टोली आरोहणका लागि नेपाल आएको थियो।


















