काठमाडौं, ५ कार्तिक । नेपालमा विगत २४ घण्टामा ५ हजार ७ सय ४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने २६ को मृत्यु भएको छ ।
यो सङ्ख्या हालसम्म भएको संक्रमणमध्ये सबैभन्दा बढी हो।
सो अवधिमा देशभरि २० हजार १ सय १८ वटा नमुना परीक्षण गरिएको थियो।
काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ३ हजार १ सय ७ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ लाख ४४ हजार नाघेको छ।
बितेको चौबीस घण्टाको अवधिमा बुधवार अपराह्णसम्म मृत्यु भएका थप २६ जनासहित नेपालमा अहिलेसम्म ७ सय ९१ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि २ हजार ९ सय ९६ सङ्क्रमित रोगमुक्त भएका छन्।
अहिलेसम्म ९९ हजार ६ सय ५ सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ८ प्रतिशत हो।
मङ्गलवार मन्त्रालयले ३ हजार ९३ जनामा सङ्क्रमण र आठ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।
गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
गत शनिवार मन्त्रालयले ५ हजार ८ जना सङ्क्रमित फेला परेको बताएको थियो।
कति छन् सक्रिय सङ्क्रमित ?
अहिले देशभरि ४४ हजार ४ सय ७६ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये १४ हजार ६ सय ७६ जना संस्थागत आइसोलेशनमा र बाँकी २९ हजार ८ सय जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाडौं उपत्यकाका हुन्।
गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघ्यो।



















