काठमाडौं, ५ मंसिर । विश्वभर महामारी मच्चाइरहेको कोरोना भाइरसले नेपालमा १ हजार २ सय ९८ जनाको जीवन लिइसकेको छ भने २ लाख १६ हजार ९ सय ६५ जनालाई बिरामी पारेको छ ।
नेपालमा शुक्रबार अपरान्हसम्म विगत २४ घण्टामा १ हजार ९ सय ४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने र २२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार सो अवधिमा देशभरि १० हजार ३ सय ४१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिँदै आएको छ। यसप्रति जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन्।
शुक्रवार परीक्षणको लगभग १९ प्रतिशतमा सङ्क्रमण देखिएको छ।
काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम अहिले जारी छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २ लाख १७ हजार नजिक पुगेको छ। तीमध्ये १ लाखभन्दा बढी काठमाडौं उपत्यकामा फेला परेका हुन्।
अहिले पुष्टि भएका २४ हजार ६ सय ६५ जना सक्रिय सङ्क्रमित देशभरि छन्।
सरकारको तथ्याङ्कअनुसार शुक्रवारसम्म नेपालमा १ हजार २ सय ९८ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

कति जना निको भए ?
मन्त्रालयले बिहीवार अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप ५ हजार ३ सय ६४ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिलेसम्म कुल १ लाख ९१ हजार निको भएको सरकारी तथ्याङ्क छ।
सङ्क्रमितहरू निको हुने दर ८८ प्रतिशत छ।
गत कार्तिक ५ गते सर्वाधिक ५ हजार ७ सय ४३ जना सङ्क्रमित फेला परेका थिए।
को हुन् सङ्क्रमित ?
सङ्क्रमितमध्ये ७ सय ४० जना महिला र १ हजार २ सय ५ पुरुष भएको मन्त्रालयले जनाएको छ।
तीमध्ये काठमाडौं ८ सय ६२ जनासहित उपत्यकाका १ हजार १ सय ७ जना छन्।
अहिले उपत्यकाका तीन जिल्लामा १२ हजार ६ सय ९२ सक्रिय सङ्क्रमित छन्।
उपत्यकामा अहिलेसम्म सङ्क्रमित भएका मानिसको सङ्ख्या १ लाख ८ सय ७२ पुगेको छ।
अरू तथ्याङ्क के छ ?
मन्त्रालयका अनुसार अहिले देशभरि १९ हजार १४ सङ्क्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा छन्।
उपत्यकामा अहिले देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ५१ प्रतिशत भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ४ सय ३ जना सघन उपचार कक्षमा र ६३ जना भेन्टिलेरमा छन्।(बीबीसीबाट)


















