हेटौडा(मकवानपुर),१८ माघ । नेपालमा संघीय शासन प्रणाली शुरु भएपछि पहिलो पटक प्रदेश सभाको बैठक हेटौडामा भएको छ।
प्रदेश सभाको पहिलो अधिवेशन प्रदेश नम्बर ३ ले गरेको हो।
बैठकसँगै उक्त प्रदेशमा सरकार गठन सहित नीतिगत काम अघि बढाउन बाटो खुलेको छ।
प्रदेश सभाको बैठक बस्नुलाई प्रदेश सभा सदस्यहरुले ऐतिहासिक घटनाका रुपमा चित्रण गर्दै संघीय शासन व्यवस्था कार्यन्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए।
शुरुवात
केही दिनअघिसम्म क्षेत्रीय शिक्षा निर्देशनालय रहेको हेटौडास्थित सरकारी भवनमा संकेत घण्टी बजेसँगै प्रदेशसभाको पहिलो बैठकमा १३ जिल्लाका १ सय १० जना सांसद रङरोगन गरेर सजाइएको हलमा लहरै मिलाएर राखिएका राता बुट्टे कुर्सीमा बसेका थिए।
प्रदेश सभाको बैठकको शुरुमा राष्ट्रिय धुन बजाइयो र त्यसपछि शहीदहरुप्रति मौन धारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
जेष्ठ सदस्यका रुपमा नेकपा एमालेका ७२ वर्षिय डोरमणि पौडेलले बैठक शुरु गरेका थिए।
अत्यन्त गौरवबोध गरिरहेका छौँ। यौ नौलो अभ्यास हो, संघीयतामा आगामी दिनमा धेरै जटिलतता र समस्या आउनेछ। त्यतिमात्रै होइन अवसर पनि आउनेछ। एक भएर अघि बढौँ
अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष. नेकपा एमाले
उनले प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाको पत्र पढेर सुनाएपछि पहिलो बैठकमा सांसदहरुलाई बोल्ने अवसर दिएका थिए।
जोड
त्यसक्रममा बोल्दै उक्त प्रदेशमा स्पष्ट बुहमत सहित सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेशसभाको बैठक ऐतिहासिक भएको बताइन्।
उनले भनिन्, “अत्यन्त गौरवबोध गरिरहेका छौँ। यौ नौलो अभ्यास हो, संघीयतामा आगामी दिनमा धेरै जटिलता र समस्या आउनेछ। त्यतिमात्रै होइन अवसर पनि आउनेछ। एक भएर अघि बढौँ।”
प्रदेश तहमा एमालेसँग सत्ता समीकरण गरेो नेकपा माओवादी केन्द्रका सभा सदस्य शालिकराम जम्कटेलले संघीयता संस्थागत गर्न दलहरुबीचको एकतामा जोड दिए।
उनले भने, ”यो राजधानी रहेको प्रदेश हो, आर्थिक श्रोत-साधन र सम्पदाको हिसाबले सांस्कृतिक र सामाजिक हिसाबले यो प्रदेश नेतृत्वदायी प्रदेश हो, त्यसैले यसलाई नमुनाको प्रदेश बनाउनुपर्छ।”
देश बनाउने हो भने हामीले दलगत रुपमा र ठूलो पार्टीको हैसियतमा हरेक कुरालाई लाद्न खोज्नु हुँदैन, सहमति र सहकार्यबाट मात्रै समृद्धि आउँछ।
इन्द्रबहादुर बानियाँ, साँसद
चेतावनी
उक्त प्रदेशमा तेश्रो स्थानमा रहेको नेपाली काँग्रेसका सभा सदस्य इन्द्रबहादुर बानियाँले संविधान जारी गराउन र चुनाव गराउन आफ्नो दलको महत्वपूर्ण भूमिका रहेको भन्दै पक्ष-विपक्षमा नलागेर सबै दल एकतावद्ध हुनुपर्ने धारणा राखेका थिए।
उनले भने, “देश बनाउने हो भने हामीले दलगत रुपमा र ठूलो पार्टीको हैसियतमा हरेक कुरालाई लाद्न खोज्नु हुँदैन, सहमति र सहकार्यबाट मात्रै समृद्धि आउँछ।”
साना दलका प्रदेश सदस्यले केन्द्रमा जस्तै भागबन्डाको विकृति देखा परेमा प्रदेश तहका संरचना विफल हुने चेतावनी दिएका थिए।
प्रदेश सभाले आगामी २७ गते सभामुख चयन गर्ने निर्णय गरेको छ।
अन्य छवटा प्रदेशले पनि आगामी हप्ताभित्र प्रदेश सभाको पहिलो बैठक आयोजना गर्ने तयारी गरेका छन्।
बीबीसीबाट