काठमाडौं, ८ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ।
संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सञ्चारकर्मीसँग भन्नुभएको छ, ‘राष्ट्र र जनताको अपेक्षा अनुसारको काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुनेछ।’
उहाँले भन्नुभयो, ‘सबै राष्ट्रिय राजनीतिक दलहरूलाई एकताबद्ध गरेर सहकार्य गरेर एकताको बलमा प्रतिनिधिसभा जीवित तुल्याउनेतिर मेरो ध्यान हुनेछ।’
उहाँले आफूले चुनौतीपूर्ण घडीमा महत्वपूर्ण जिम्मेवारी पाएको बताउनुभएको छ।
संसदीय दलको बुधवार बसेको बैठकले उहाँलाई संसदीय दलको नेतामा चयन गरेको बैठकमा सहभागी विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले बताउनुभएको छ।
उक्त बैठकमा विघटित प्रतिनिधिसभाका १ सय १५ जना सांसद सहभागी भएको सांसद महेश्वर गहतराजको दाबी छ।
यस अघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्थ्यो।
ओलीलाई उक्त समूहले कारबाही गरेर मङ्गलवार पार्टीको अध्यक्षबाट निष्कासित गरेको थियो।

संसदीय दलको बैठकमा नेताहरू
संसद्मा नेकपाका ९० जना सांसदले केपी शर्मा ओली विरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावमा पनि प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ ।
केपी ओली समूहले प्रचण्ड माधव समूहले गरेका निर्णयलाई अवैधानिक भन्दै आएको छ।
प्रचण्ड माधव समूहले मंगलबार कार्की बैंक्वेट थापाथली हाईटमा पार्टीको केन्द्रीय समिति बैठक डाकेर पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाएर सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेकोथियो।


















