काठमाडौं, ९ पौष । प्रतिनिधिसभा विघटनपछि सोमबारदेखि ने आआफ्नो समूहको भेला र बैठक गर्दै आएका नेपाल कम्युनिष्ट पार्टीका ओली र प्रचण्ड-माधव पक्षले बिहिबार देशव्यापी लैजाने आआफ्ना कार्यक्रम सार्वजनिक गर्दैछन् ।
नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अहिले बिहान साढे ११ बजे कार्की ब्यांक्वेट बबरमहलमा र प्रधानमन्त्री ओली समूहले दिउँसो १ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
्
प्रचण्ड माधव पक्षले आजको केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम लिएर तल्लो तहसम्म जाने निर्णय गर्दैछ ।
प्रचण्ड र नेपालको समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी छ ।
यता ओली समूहले आजको केन्द्रीय कमिटी बैठकले चुनावी अभियान कार्यक्रम घोषणा गर्नेछ।
प्रधानमन्त्री निकट नेताहरुले आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीज्यूले चुनावी अभियान लिएर तल्लो तहसम्म खटिन नेताहरूलाई निर्देशन दिनुहुने बताएका छन् ।
विभाजन भै नसकेको नेकपाभित्रका दुई गुटहरुको परस्पर विरोधी कार्यक्रम देशभर वडातहसम्म पुग्ने भएकोले दुईपक्षबीच ठाँउठाँउमा मुठभेडको खतरा बढेको छ ।
प्रचण्ड माधव पक्षलाई महासचिवको खाँचो
यता पार्टीको प्रचण्ड माधव पक्षले आज पार्टीको नयाँ महासचिव चयन गर्ने संभावना पनि रहेको छ।
अहिलेसम्मका केन्द्रिय समितिको बैठक पार्टीको पौष १ गतेको निर्णय अनुसार भएकोले वैधानिकतामा समस्या छैन । मंगलबारको बैठक पुस १ गते अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेलसमेत उपस्थित स्थायी कमिटी बैठकले गरेको निर्णयबमोजम बसेको हो । तर, अब स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउन महासचिवको आवश्यकता खड्किइसकेको छ । हाल कायम महासचिव विष्णु पौडेल ओली समूहतर्फ रहेकाले आज बिहान साढे ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पहिले महासचिव चयन गर्ने बताइएको छ ।
नेकपाको विधानमा पार्टीको बैठक महासचिवले बोलाउनुपर्ने प्रावधान छ।
प्रचण्ड र माधव नेपालको महासचिव बन्ने सम्भावित नेताहरूमा सुरेन्द्र पाण्डे, भीम रावल, वर्षमान पुन, जनार्दन शर्मा, घनश्याम भूसाल र नारायणकाजी श्रेष्ठको नाम लिइएको छ।तीन शीर्ष नेता अध्यक्ष प्रचण्डले वर्षमान, माधव नेपालले डा. भीम रावल र झलनाथ खनालले सुरेन्द्र पाण्डेको नाम अगाडि सार्नुभएको छ।


















