काठमाडौं, १६ पौष । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल पक्षले संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर भीम आचार्यलाई नेता बनाएको छ।
बिहीबार बसेको दाहाल–नेपाल पक्षीय बहुमत सांसदको बैठकले राईलाई दलको नेताबाट हटाउँदै भीम आचार्यलाई नेता चनेर मुख्यमन्त्रीमा प्रस्ताव समेत गरेको हो।

प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट छ। तत्कालीन एमालेका ५१, माओवादी केन्द्रका १६ गरी एकीकृत नेकपामा ६७ जना सांसद रहेका छन भने कांग्रेससंग २१, जनता समाजवादी पार्टीसंग ३, राष्ट्रिय प्रजातन्त्र पार्टीसग एक र संघीय लोकतान्त्रिक मञ्चसंग एक सिट छ।
प्रदेशमा सरकार बनाउन ४७ सिट आवश्यक पर्छ । अहिलेसम्म कुनै समूहले एकलौटी सरकार बनाउन सक्ने अवस्था छैन्।
मुख्यमन्त्री राईद्धारा १५ सांसद् निलम्बित
यसैबीच नेकपाको प्रदेश सभाका बहुमत सदस्यहरुले पदबाट हटाएका मुख्यमन्त्री राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गर्नुभएको छ।
नेकपाका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीका अनुसार मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको हो।
राईले निलम्बन गर्नुभएका प्रदेश सांसद्हरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार जना सांसद तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएकोले कारबाही नगरिएको बताइएको छ।
आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन सांसदलाई हस्ताक्षर गराएको भन्दै शनिबार साँझ मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोलाई पदबाट बर्खास्त गर्नुभएपछि प्रदेश १ मा नेकपाको केन्द्रको झगडा प्रवेश गरेको थियो । आइतबार बिहान दाहाल-नेपाल समूहका तीन मन्त्रीले पदबाट राजीनामा समेत दिनुभएको थियो।
सोही दिन प्रदेशसभा सचिवालयमा ३७ जना सांसदहरुले हस्ताक्षरसहित मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो।


















