Prakash Adhikari January 13, 2021

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २९ पौष(बीबीसी) । अमेरिकी न्याय मन्त्रालय र सङ्घीय जाँच ब्युरो (एफबीआई)ले गत साता संसद् भवनमा भएको आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाएको छ।

अधिकारीहरूले हिंसासँग सम्बन्धित एक लाख डिजिटल प्रमाणहरू नागरिकहरूबाट प्राप्त गरेको जनाएका छन्।

वासिङ्टनस्थित संसद् भवन रहेको क्यापिटल भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले हङ्गामा मच्चाएका थिए। त्यसक्रममा पाँचजनाको ज्यान गएको थियो।

घटनामा संलग्न भएको आरोपमा १ सय ६० जनाभन्दा धेरैविरुद्ध फौजदारी अनुसन्धान सुरु गरिएको बताइएको छ।

जेल सजायको व्यवस्था

कोलम्बियाका कार्यवाहक महान्यायाधिवक्ता माइकल शेरवीनले उनीहरूविरुद्ध आक्रमण र विद्रोहको षड्यन्त्र लगायतका अभियोग लगाइन सक्ने जानकारी दिनुभएको छ।

ती अभियोगमा २० वर्षसम्म जेल सजाय हुनसक्छ। अभियोग लगाइनेहरूको सङ्ख्या सैयौँ पुग्न सक्ने उहाँको भनाइ छ।

संसद् भवनको बाहिर प्रदर्शनकारीहरू बेलुकासम्म बसेका थिए

संसद् भवनको बाहिर प्रदर्शनकारीहरू बेलुकासम्म बसेका थिए

अहिलेसम्म ७० जनालाई अभियोग लगाइसकिएको बताइएको छ।

नागरिकहरूबाट प्रमाणको रूपमा घटनासँग सम्बन्धित करिब एक लाख डिजिटल अंशहरू प्राप्त गरेको बताउँदै वासिङ्टन डीसीस्थित एफबीआई कार्यालयका सहनिर्देशक स्टिभन डूआन्टानोले पनि अनुसन्धान र अभियोग दुवै सङ्ख्या बढ्ने ठानिएको जानकारी दिनुभएको छ।

हवाई यात्रामा रोक

एफबीआईले क्यापिट हिंसामा संलग्नलाई कानुन पालना गराउने निकायसमक्ष उपस्थित हुन आग्रह गरेको छ।

केही प्रदर्शनकारीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए
केही प्रदर्शनकारीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए

डूआन्टानोले भन्नुभयो, ‘यदि तपाईहरुले डीसी छाडिसकेको हुनुहुन्छ भने पनि स्थानीय कार्यालयका प्रतिनिधिले तपाईँको घरको ढोका ढकढक्याउन आइपुग्नेछन्।’

सिनेटर चक सुमरले घटनाको दिन क्यापिटल भवनमा रहेकाहरूलाई हवाई यात्रा गर्न नपाउने राष्ट्रिय सूचीमा राख्न सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘हामीले त्यस्ता राजद्रोहीलाई जहाजमा पस्न दिनु हुँदैन र थप हिंसा अनि ध्वंस मच्चाउने कारण बन्न दिनु हुँदैन।’

उक्त घटनालाई प्रोत्साहित गरेको आरोप ट्रम्पमाथि लगाउँदै डेमोक्याटहरूले उहाँलाई पदमुक्त गराउने प्रयास गरिरहेका छन्।

Share Now

Leave a comment.