विराटनगर(मोरङ),२१ माघ २१। प्रदेश नं १ को पहिलो प्रदेशसभा अधिेवेशनको पहिलो बैठक सञ्चालनको लागि भौतिक र व्यवस्थापकीय तयारी लगभग पूरा भएको छ ।
प्रदेश सभा सचिवालयले प्रदेशको अधिवेशन र पहिलो बैठक स्थलको भौतिक पूर्वाधार तयार पारिसकेको छ भने प्रदेश सभा सचिवालयको संयोजनमा शनिबार बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठकको कार्यसूची पनि तयार पारेको छ ।
प्रदेशसभाका जेष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा बसेको बैठकले पहिलो बैठकको कार्यसूची टुंगो लगाएको प्रदेश बैठक सञ्चालनका लागि खटिएका संघीय संसद सचिवालयका उपसचिब सहजित राईले जानकारी दिए।
बैठकले प्रदेशसभा पहिलो बैठकमा अधिवेशन आह्वानको प्रमुखको पत्र वाचन गर्ने, प्रदेशसभा सञ्चालनको अन्तरिम कार्यविधि पास गर्ने, सभामुख र उपसभामुखको निर्वाचनको मिति तोक्ने, बैठकको अध्यक्षता गर्ने अध्यक्ष मण्डल तोक्ने र दलका प्रतिनिधिहरूले सम्बोधन गर्ने कार्यसूची रहने निर्णय गरेको छ।
पहिलो बैठकमा १ स्वतन्त्रसहित ७ जनाले सम्बोधन गर्नेछन्।
पहिलो बैठकमा नेकपा एमालेबाट भीम आचार्य, नेपाली कांग्रेसबाट केदार कार्की, नेकपा माओवादी केन्द्रबाट इन्द्र आङ्बो, संघीय समाजवादी फोरम नेपालबाट जयराम यादवले सम्बोधन गर्नेछन्। यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाङफे, राप्रपाकी इन्दिरा राई र स्वतन्त्र सदस्य नारायणबहादुर मगरले पनि बैठकलाई सम्बोधन कार्यसूची रहेको छ।
आजको बैठकमा सभामुखको भूमिकामा रहने ज्येष्ठ सदस्यले सभामुख र उपसभामुखको निर्वाचनको मिति घोषणा गर्ने कार्यक्रम छ । सभामुखको निर्वाचन माघ २९ गते उपसभामुखको निर्वाचन ३ फागुनमा गर्ने सहमति शनिवारको बैठकले गरिसकेको छ ।