Prakash Adhikari February 4, 2021

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुनको पहिलो हप्तमा संयुक्त आन्दोलन सुरु हुने र त्यसले प्रधानमन्त्री के.पी. ओली सहित निरंकुश शासनका सबै अवशेषहरुलाई बढाडेर मिल्काउने दावी गर्नुभएको छ ।

बिहिबार बिहान पार्टीले आयोजना गरेको आमहडतालको अगुवाइ गरिरहनुभएका नेकपा अध्यक्ष प्रचण्डले ललितपुरको पुल्चोकमा कार्यकर्ताहरुमाझ भन्नुभयो, ‘आन्दोलन अझ सशक्त पारिने छ । सम्भवत: फागुनको पहिलो हप्ता संयुक्त आन्दोलन हुनेछ र त्यसपछि केपीको निरंकुश शासनको आयु सकिन्छ ।’

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष प्रचण्डले यही माघ २८ गते विशाल आन्दोलन गर्ने पूर्वनिर्धारित कार्यक्रम यथावत् रहेको र त्यसपछि पनि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिगमन सच्याउने कदम नचालेमा अझ ठूलठूला आन्दोलन गर्ने चेतावनी दिनुभयो।

‘हाम्रो आन्दोलन अझ सशक्त हुँदै जान्छ यो त हामीले हिजो संवैधानिनक परिषद र भूमि आयोगसम्बन्धी सरकारले जे निर्णय गर्‍यो, बलमिच्याइँ जसरी गरियो, निरंकुशताको पराकाष्ठाको रूपमा जसरी गरेको छ, जनतालाई जानकारी दिन पनि यो उपाय अपनायौं,’ प्रचण्डले भन्नुभयो।

नेकपा अध्यक्ष प्रचण्ड सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कवि, कलाकार, साहित्यकार सबै विरोधमा उत्रिसकेकाले ठूलो जनआन्दोलन हुने र त्यसले निरंकुशतावादीलाई एकसाथ बढार्नेमा ढुक्क हुनुहुन्छ ।

Share Now

Leave a comment.