काठमाडौं, २७ माघ । प्रतिनिधिसभा विघटनयता सडक सङ्घर्षमा होमिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड(माधव नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्रीको ‘असंवैधानिक कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा पर्ने’ चेतावनी दिनुभएको छ।
मङ्गलवार काठमाडौंस्थिति विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष द्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सो कुरा बताउनुभएको हो ।
नेता द्धयले हाल विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको तथा संविधानको मर्म र भावनाअनुरूप उक्त विघटन उल्टिने आफूहरुको विश्वास रहेको बारम्बार दोहर्याउनुभएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते गते प्रतिनिधिसभा विघटन गरी बैशाखमा नयाँ निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो।

प्रधामन्त्रीको समूहले निर्वाचन आयोग तथा सर्वोच्च अदालतजस्ता संवैधानिक निकायसँग साँठगाँठ मिलाइसकेको भएर अब संसद् पुनर्स्थापना नहुने दाबी गर्दै हिँडेको प्रचण्डले आरोप लगाउनुभएको थियो।
‘त्यस्ता सेटिङ भएकाबारे हामीलाई विश्वास छैन। तर यदि सेटिङ नै खालको निर्णय भयो भने हामी सामु निकै ठूलो राजनीतिक र नैतिक प्रश्न खडा हुनेछ। त्यसलाई सहज रूपमा लिन सक्दैनौँ’, प्रचण्डले भन्नुभयो।
त्यसो भए अदालतले प्रधानमन्त्रीको कदम सदर गरिदिए प्रचण्ड-नेपाल समूहले चुनाव बहिस्कार गर्छ त ?
प्रचण्डको जबाफ थियो , ‘त्यो निर्णय त्यतिबेला नै लिनेछौँ। अहिले नै निष्कर्षमा पुगेका छैनौँ।’
उक्त जबाफमा थप प्रस्टता खोजेपछि नेपालले चाहिँ अलि अर्थपूर्ण उत्तर दिँदै भन्नुभयो, ‘हाम्रो टिप्पणीको तपाइँहरू आफैँ विश्लेषण गर्न सक्नुहुन्छ।’
पटकपटक दुवै नेताले आफूहरूको आन्दोलन पार्टीभित्रको आन्तरिक विवादमात्र नभएको प्रष्ट पार्ने कोसिस गर्नुभएको थियो।
‘यो हाम्रो पार्टीको मात्र आन्तरिक विषय वा विवाद होइन, रहेन। प्रधानमन्त्रीलाई सत्ताको मात लाग्यो। उहाँले साम, दाम, दण्ड, भेदको नीति प्रयोग गर्नुभयो’, अध्यक्ष नेपालले भन्नुभयो।
‘यो लडाइँ पदको निम्ति होइन, न्यायको निम्ति हो।’ आफूहरूले अन्तर्राष्ट्रिय समुदायलाई यही विषय बुझाउन चाहिरहेको प्रचण्डले उल्लेख गर्दै भन्नुभयो,’यहाँ लोकतन्त्रको हत्या भइरहेको छ भनेर हामीले भनिरहेका छौँ।’
विभिन्न विदेशी शक्तिहरूको आ-आफ्नै हित र चासो भएको हुनसक्ने भएपनि संसद् विघटनपछि उब्जिएको वर्तमान परिस्थितिको निम्ति केवल प्रधानमन्त्री ओली जिम्मेदार रहेको उहाँले बताउनुभएको थियो।

प्रचण्ड र माधवकुमार नेपाल
केपी ओली ‘विक्षिप्त’
प्रतिनिधिसभा विघटनपश्चात् दुवै पक्षबीच जारी चर्को वाक् युद्धको झल्को मङ्गलवारको कुराकानीमा पनि देखा पर्यो।
गत साता माघ २३ को सभामा प्रधानमन्त्री केपी ओली ‘विक्षिप्त’ रूपमा प्रस्तुत भएको प्रचण्डको टिप्पणी थियो।
माधवकुमार नेपालले पनि ओलीलाई सत्ताको मात लागेको तानाशाहको सङ्ज्ञा दिनुभयो।
पछिल्लो समयमा हिन्दू धर्म तथा राजावादीहरूसँग ओलीको ‘हिमचिम’ बढेका आधारहरू रहेको प्रचण्डको आरोप थियो।
‘पशुपतिमा दीप प्रज्ज्वलन, ३० करोडको जलप, राममन्दिर र अयोध्याका कुरा अनि ठीक नारायणहिटी सामुन्ने सभाको आयोजनाले’ केही न केही सङ्केत गरिरहेको उहाँले बताउनुभयो।(बीबीसीबाट)


















