काठमाडौं, २९ माघ । प्रचण्ड नेपाल नेतृत्वको नेकपाले पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेर सरकारले घोर अलोकतान्त्रिक, निरङ्कुश र सर्वसत्तावादी चरित्र उदाङ्गो पारेको’ भन्दै रिहाइको माग गरेको छ।
बिहिबार अपरान्ह पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता बाहेक केही होइन।’
नेकपाले झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ ।
झाँक्रीले राज्यविरुद्धको अपराध गरेको जनाउँदै नेपाल प्रहरीले आज अपराह्न उहाँको निवासबाटै पक्राउ गरेको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले देशका विभिन्न स्थानमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झाँक्रीले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिनुभएको थियो ।
रामकुमारीको व्यक्तित्व
हालै विघटन भएको प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् हुनुहुन्थ्यो।
प्रतिनिधिसभा विघटनपछि नेकपामा भएको कित्ताकाँटमा उहाँ नेकपाको प्रचण्ड नेपाल समूहमा हुनुहुन्छ । उहाँ नेकपाको केन्द्रीय सदस्य पनि हुनुहुन्छ।
उहाँ विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट पार्टीको नेतृत्वमा आउनुभएको हो ।
२०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेसनबाट उहाँ अध्यक्ष चुनिनुभएको थियो।
उहाँ अनेरास्ववियूको पहिलो महिला अध्यक्ष हुनुहुन्छ ।
२०६२ ।६३ को जनआन्दोलनमा प्रहरीको कुटाइबाट उहाँको टाउकोमा गहिरो चोट लागेकोे थियो ।
युवा संघको चेतावनी
राष्ट्रिय युवा संघ नेपालले राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ।
बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै युवा संघले झाँक्रीलाई विनाशर्त तत्कान रिहा नगरे देशभरी आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएको छ। उनले झाँक्रीको गिरफ्तारी कामचलाउ सरकारको हतास मनस्थितिको उपज भएको बताएको छ।
‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुश कामचलाउ सरकारको हतास मनस्थितिको उपज हो’, संयोजक रामप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘झाँक्रीलाई तत्काल विनाशर्त रिहा नगरे युवा संघ नेपालले देशव्यापी रुपमा विरोधको आँधीबेहरी सिर्जना गर्ने समेत चेतावनी दिन चाहन्छौँ।’
प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ !
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताउनुभएको छ।
बिहीबार पेरिसडाँडामा आयोजित आदिवासी, जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिको नाममा गलत बोलेको भनेर प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको बताउनुभएको थियो।
उहाँले नेतृ झाँक्रीलाई पुलिसले हिजोबाटै पक्राउ गर्न खोजेको बताउदै हिजोदेखि बिहानसम्म रोक्ने प्रयास गरेको पनि बताउनुभयो ।
अध्यक्ष प्रचण्डले झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताउदै भन्नुभयो, विचारमाथि लोकतन्त्रमाथि ताला लगाउन उहाँलाई पक्राउ गरिएको हो ।’


















