विण्डहोक(नामिबिया), २२ माघ । नेपाली क्रिकेट टिमले आईसीसी बिश्व क्रिकेट लिग डिभिजन(२ मा नयाँ जर्सी लगाएर खेल्ने भएको छ।
फेब्रुअरी ८ देखि १५ तारिकसम्म नामिबियाको राजधानी विन्डहोकको विन्डररर्स क्रिकेट ग्राउण्ड,युनाइटेड ग्राउण्ड र एफिक्स पार्क क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली नयाँ जर्सीमा देखिने भएको हो ।
यद्यपि यसको लुक्स युएईको दोश्रो अभ्यास खेलमा पनि सार्वजनिक भएको थियो ।
नेपाली टिमले लगाउने जर्सी भारतको टि-टेन स्पोर्ट्सले बनाउदै आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीलेनै जर्सी लगायत नेपाली क्रिकेट टिमको ब्यबस्थापनको पाटो हेर्दै आएको छ।
नेपाली क्रिकेट टीमले पहिले देखि लगाउने जर्सीमा निलो रंग धेरै जसमा रातो मिसिएको हुने गर्थ्यो तर यो पटकको जर्सीमा रातो रंगको धेरै प्रयोग गरिएको छ जसमा निलो मिसाइएको छ। जर्सीको माथिल्लो भागमा पूर्ण रातो र तल्लो भागमा निलो र रातोको मिश्रण गरिएको छ।
यस अघि नेपालले युएईमा बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल खेल्दा लगाएको जर्सीको अधिकांश भाग निलो थियो भने बाहुला र छेउको भाग रातो थियो। निलो र रातोको यही अनुपात भएको जर्सीमा नेपालले लामो समय देखि लगाउदै आएको थियो ।