काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि एमीकस क्युरीको बहस सुरु हुँदैछ।
पक्ष र विपक्षको बहस तथा १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएपछि आजदेखि एमिकस क्यूरीले बहस गर्न लागेका हुन्।
सर्वोच्चको आदेशअनुसार नेपाल बार र सर्वोच्च अदालत बार एशोसियसनले पाँच जना एमिकस क्युरी सिफारिस गरेको थियो।
वार एशोसिएसनका तर्फबाट एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली र सर्वोच्च अदालत वार एशोसिएसनका तर्फबाट पूर्णमान शाक्य र गीता पाठकलाई चयन गरेर गरिएको छ ।
एमिकस क्युरीमा रहनुभएका वरिष्ठ अधिवक्ताहरुले रिट निवेदनमा उठाएका विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्नेगरी स्वतन्त्र विचार दिनुहुनेछ।
एमीकस क्युरीको बहस सकिएपछि अदालतले निर्णय दिनेछ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले गत पुस ५ गते मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रतिनिधिसभा विघटन गरी आउने बैशाख १७ र २७ गते निर्वाचन गर्न राष्ट्रपतिमा सिफारीस गर्ने निर्णय पारित गराएर राष्ट्रपतिमा जाहेर गरेपछि प्रतिनिधिसभा विघटन भई नयाँ चुनावको घोषणा भएको थियो ।
संविधानले ५ बर्षका आयु निर्धारण गरेको प्रतिनिधिसभालाई आफूमा निहित नरहेको अधिकारको उपयोग गरेर विघटन गरिएकोले प्रतिनिधिसभा विघटनको सिफारिस लगायतका असंवैधानिक कार्यहरु बदर गराउन माग गर्दै सर्वोच्च अदालतमा १३ वटा रिट परका थिए ।
ती १३ वटा रिटमाथि प्रधानन्यायाधीशको नेतृत्वमा रहने संवैधानिक इजलासमा सुनुवाई भैरहेको छ ।


















