विदुर (नुवाकोट), ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र आफ्नो विचार र व्यवहारसंग असहमति राख्ने नेता र कार्यकर्ताहरुलाई नुवाकोट पुगेर लल्कार्नुभएको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहिबार पोखरामा आयोजित कार्यक्रम नेपालमा लोकतन्त्र, बहुदलीय संसदीय प्रजातन्त्र ,कानूनी राजको ७० बर्षदेखि वकालत गर्दै आएको आफ्नै नेतृत्वमा संविधानसभाबाट वर्तमान संविधान जारी गरेको पार्टीका नेताले संविधान र लोकतन्त्रको रक्षाको दायित्व विर्सेर जथाभावी बोलेकोमा सभापति देउवाको झ्याको झोरेपछि क्रुद्ध हुनुभएका सभापति देउवाले आज नुवाकोटबाट त्यसको जवाफ दिनुभएको हो ।
उहाँले गत मंगलबार प्रतिनिधिसभा विघटनको देशव्यापी विरोध सभाका क्रममा भैरहवामा आयोजित कार्यक्रममा बोलेकै शैलीमा निर्वाचन भएर छाड्ने विश्वास व्यक्त गर्दै निर्वाचनको तयारी नगर्ने नेताहरुलाई राजनीति छोड्न धम्की पनि दिनुभयो ।
उहाँले लोकतान्त्रिक पार्टीको सभापति भएकोले सर्वोच्च अदालतले दिने फैसलामा आफ्ना लागि शिरोधार्य भएको बताउदै भन्नुभयो, ‘संसद पुनर्स्थापना भएन भने चुनाव भयो, भयो ।’
उहाँले अहिले नभए पनि डेढ वर्षपछि चुनाव हुने बताउदै भन्नुभयो ‘कि राजनीति छोड्नुपर्यो कि चुनावमा जान तयार हुनुपर्यो ।चुनावका लागि तयार हुनुस्, डेढ वर्षपछि होस् कि अहिले होस् ।’
शुक्रबार नुवाकोटमा पार्टी कार्यालय भवनको उद्घाटन कार्यक्रममा कांग्रेस सभापति देउवाले २०७४ सालको प्रतिनिधिसभाको चुनावको क्रममा आफूले कम्युनिस्ट पार्टीको शासन आएपछि रुन पनि पाइने छैन भनेको संझाउदै भन्नुभयो, ‘आज बल्ल साथीहरु ओलीको खिलापमा बोल्न सक्ने भएछन् तर प्रचण्डको खिलापमा बोल्न डराउँछन् अझै यहाँ (मञ्चतिर देखाउँदै) ।’
सभापति देउवाले आफूले प्रचण्ड र ओली सबैको खिलापमा बोल्न सक्ने कांग्रेस पार्टी बनाउन चाहेको बताउदै भन्नुभयो,संसद पुनर्स्थापना भएन भने चुनाव हुन्छ हुन्छ ।
उहाँले सर्वोच्च अदालतमाथि विश्वास गर्न नेताहरुलाई आग्रह गर्दै भन्नुभयो, ‘पुनर्स्थापनाको निर्णय गर्छ भने सहर्ष स्वीकार गरौं । चुनाव भन्छ भन्यो भने चुनावमा जाऊँ ।’
नेकपाको दुबै समूहले चुनावको तयारी गरिसकेको र चुनाव चिह्नका लागि लडिरहेको बताउदै आफ्नै पार्टीका नेताहरुको बारेमा भन्नुभयो, ‘हाम्रा नेताहरु चुनाव हुँदै हुँदैन भन्छन् । हद हुन्छ नि एउटा । भयो भने नि ? त्यसको तयारी गर्नुपर्दैन ? चुनावबाट भाग्ने ?’
उहाँले संविधानअनुसार प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था भएकोले चुनाव हुनेमा विश्वस्त हुन आग्रह गर्दै यदि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगरीकन सत्तामा बस्ने चेष्टा गरेमा सबै मिलेर निकाल्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संविधान मिचेको बारेमा कार्यक्रममा उद्घोषकदेखि सबै वक्ताहरुले बोलेको भएपनि सभापति देउवाले भने प्रधानमन्त्री ओलीको अप्रत्यक्ष बचाऊ गर्नुभयो । उहाँले नेपालमा सबैले संविधान मिचेको बताएर ओलीको अपराधलाई फिका बनाउदै भन्नुभयो,‘यो संविधान मैले पनि मिचेको छु भन्छन्, ओलीले पनि मिचेको छ भन्छन् ।सबैले मिचेका छन्, नेपालमा (संविधान) नमिच्ने कोही छैनन् ।’


















