काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेर काम चलाउमा रुपान्तरित भैसकेको वर्तमान ओली सरकारको सिफारिसमा राष्ट्रपतिबाट २ नं प्रदेश प्रमुख तिलक परियारलाई गरिएको बर्खास्ती र राजेश झालाई गरिएको नयाँ नियुक्तिको विरोध र भत्सर्ना गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको उल्लेख गर्दै भनिएको छ,’आज फेरि त्यही प्रवृत्ति दोहो¥याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।”
संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न भन्दै काग्रेसले भनेको छ, ‘..यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ ।’


















