Prakash Adhikari February 22, 2021

लहान, १० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडैलले संसद् पुनःस्थापनाको विकल्प नभएको बताउनुभएको छ ।

मधेश सम्मान यात्राको क्रममा आज सप्तरीको बोदे बसाइनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुनःस्थापनाले मात्र मुलुकलाई स्थिरता दिने भएकाले पुनःस्थापनाको कुनै विकल्प नभएको जिकिर गर्नुभएको हो ।

नेपाली कांग्रेसको न्यायालयमाथि विश्वास रहेकाले अहिले ठूलो आन्दोलनको घोषणा नगरेको स्पष्ट पार्दै उहाँले कांग्रेस संविधानको रक्षाको लागि आन्दोलन गरिरहेको बताउनुभयो । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै पौडेलले संविधानको कुनै पनि धारामा संसद् विघटनको प्रावधान उल्लेख नरहेका कारण सर्वोच्च अदालतले पनि त्यही संविधानको धारा पढेर फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मधेशलाई बचाउने र जोगाउने काम कांग्रेसले मात्र गर्न सक्ने दाबी गर्दै उहाँले मधेश र कांग्रेस एकार्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिर गर्नुभयो । मधेशवादी दलले मधेशका मुद्दा छोड्नाका साथै आफ्नो पार्टीको नाममा पनि मधेशी शब्द छोडेको आरोप लगाउनुभयो ।

Share Now

Leave a comment.