मुम्बई(भारत), १४ फागुन । अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘गंगूबाई काठियावाडी’ को टिजर बुधवार सार्वजनिक भएको छ ।
टिजरमा आलियाको दमदार अभिनय छ । १ मिनेट ३१ सेकेण्ड लामो टिजरको सुरुमा एक पुरुषले भनेका छन्, ‘भन्ने गरिन्छ कमाठीपुरममा कहिले औंसीको रात हुँदैन किनकि त्यहाँ गंगू बस्छे ।’
टिजरमा आलिया भन्दद्धिन, ‘गंगू चन्द्रमा थिइ र चन्द्रमा नै रहन्छे ।’
गंगूबाई रोलका लागि जुन आत्मविश्वास, आक्रोश र निडरता चाहिएको थियो, त्यो सबै आलियामा देखिएको छ । टिजरमा निकै घटलाग्दा डाइलग छन् । उनले टिजरको अन्तिममा भनेकी छन्, ‘म गंगूबाई, प्रेसिडेन्ट कमाठीपुरम । कुमारी तपाईंहरुले छाड्नुभएन, श्रीमती कसैले बनाएन ।’
यो फिल्मको सेट पनि निकै भव्य देखिएको छ । ‘पद्मावत’ फिल्मका निर्देशक संजयलिता भंसालीको निनिर्देशन रहेको फिल्म ‘गंगूबाई काठियावाडी’ को कथा ‘द माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित छ ।
टिजर सार्वजनिकसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । ३० जुलाई २०२१ (साउन १५)का लागि फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।
सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूबाईको जीवनीमा आधारित भएर फिल्म निर्माण भएको हो । फिल्मले कसरी एउटा सम्भ्रान्त परिवारकी शिक्षित युवती वेश्यावृत्तिमा लाग्छिन् र देहव्यापारका लागि बदनाम कमाठीपूरामा शासन गर्छिन् भन्ने देखाउनेछ ।
पहिलो पटक आलिया भट्टले निर्देशक सञ्जय लीला भन्सालीसँग काम गरेकी हुन् ।


















