Prakash Adhikari February 28, 2021

याङ्गुन, १६ फागुन (रासस/एएफपी) । म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ ।

सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुन समेत देशका सबैजसो शहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन् ।

https://twitter.com/Myomyin98572401/status/1365964078888329220

यसै महिनाको शुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेका छन् । जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरेपनि सेना विरुद्धको प्रदर्शन रोकिएको छैन ।

https://twitter.com/khin_kt/status/1365964193367609356

आइतबार बिहान समेत ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए । सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइन मार्फत आम जनतालाई आह्वान गरिएको थियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार दक्षिणी डावेई शहरमा आयोजित जुलुसमा सहभागीमाथि सेना र प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका छन् ।

उद्धारकर्ता पाई ज हेइनले सेना, प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको तथा घाइतेहरुलाई रबरको गोली लागेको बताउनुभयो । उहाँले गोली लागेका व्यक्तिहरु अस्पतालमा ल्याउनेक्रम रहेकाले घाइते वा मृतकको संख्या अरु बढ्न सक्ने जानकारी दिनुभयो ।

https://twitter.com/ArkarKhant3/status/1365964536231133184

म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा तत्कालीन राष्ट्रपति र आङ सान सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो ।

सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीका कैयौं नेतालाई गिरफ्तार गरेको छ ।

सेनाको उक्त कदमको संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र अरु कैयौं देशले विरोध गरेका छन् ।

आइतबार अघिसम्म कम्तीमा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । भिड नियन्त्रण गर्नेक्रममा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको सेनाले जनाएको छ ।

https://twitter.com/PaingPhyoeThu9/status/1365948694382567424

Share Now

Leave a comment.