काठमाडौँ, १८ फागुन । सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा सरकारसंग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली बनाएको छ । टोलीका अर्का सदस्यमा उदय चलाउने ‘दीपक’ रहनुभएको छ ।
चन्द समूहद्वारा सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिए पनि सार्वजनिक गरिएको थिएन ।
सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेको दुई सदस्यीय बार्ता टोली गठन गरेको जानकारी सार्वजनिक भएको पछि विप्लब समूहले आफ्नो वार्ता टोली सार्वजनिक गरेको हो ।
विप्लब समूहले वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो शर्त राखेको छ ।
उसले पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने शर्त राखेको छ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्दले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी सरकारसँग वार्ता गर्ने टोली गठन गरिएको जनाउनुभएको छ ।
चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’नेपाल सरकारसँग देशका राजनीतिक,आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।’


















