काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दल गभर्मेण्ट इन वेटिड. भएपनि आफू प्रधानमन्त्रीको दौडमा नभएको बताउनुभएको छ ।
नेपाल विद्यार्थी संघका पूर्वसभापति नैनसिंह महरद्धारा लिखित पुस्तक महाकाण्डको बूढानीलकण्ठस्थित आफ्नै निवासमा विमोचन गर्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो ।
‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ,’कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन’उनले भने ।
देउवाले नेकपाभित्रको आन्तरिक किचलोमा आफू फस्न नचाहेको पनि बताउनुभयो । नेकपा विवाद उनीहरुको आन्तरिक विषय हो भन्दै उहाँले कांग्रेस त्यसको पक्ष विपक्षमा नउभिने उल्लेख गर्नुभयो।
ओलीविरुद्ध अविश्वास प्रस्ताव लाने कि नलाने भन्नेमा पनि नेपाली कांग्रेसले प्रष्ट निर्णय नलिएकाले र पार्टीभित्र र विभिन्न राजनीतिक दलहरुसंग छलफल र परामर्श जारी रहेको पनि उहाँले बताउनुभयो।


















