Prakash Adhikari March 9, 2021

 

सुर्खेत, २५ फागुन । चार सन्तानसिहत कर्णाली नदीमा हामफाल्नु भएकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ।

मंगलबार दिउँसो करिब १२ बजेतिर सुकी र उहाँका ८ बर्षीय छोरा ललित बडुवालको शव पानीमुनी भेटिएको प्रहरीले जनाएको छ।

सोमबार साँझ दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको स्थान आसपासमै उनीहरुको शव भेटिएको दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ ।
५ वर्षीया छोरी रजनी बडुवालको अबस्था अझै अज्ञात छ । रजनीको खोजी कार्य जारी छ ।

सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए ।

मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ ।
नेपालभर १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको थियो ।

घटनाबारे थप अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी वसन्तकुमार पन्तसहितको टोली घटनास्थलमा पुगेको छ ।

 

Share Now

Leave a comment.