Prakash Adhikari March 11, 2021

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिकी), २७ फागुन(बीसीसी) । अमेरिकी कङ्ग्रेसको तल्लो सदनले पनि राष्ट्रपति बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ।

हालसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताइन्छ।

राष्ट्रपति जो बाइडनको १९ खर्ब डलरको प्याकेजले कोभिडको प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहत दिने बताइएको छ।

तीव्र ध्रुवीकरण

बुधवार तल्लो सदन प्रतिनिधिसभाले यसलाई पार्टीगत बहुमतबाट पारित गरेको हो। यसअघि माथिल्लो सदनले पनि बहुमतबाट यसलाई पारित गरेको थियो।

अब यसलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि कार्यान्वयन हुन्छ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीका अनुसार राष्ट्रपति बाइडनले शुक्रवार यसमा हस्ताक्षर गर्नुहुने छ।

प्रतिनिधिसभामा मतदान हुँदा एकजना बाहेक सबै डेमोक्र्याट सांसदले यसको समर्थन गरेका थिए।

प्याकेजलाई रिपब्लिकन दलका सांसदहरूले भने अस्वीकार गरेका थिए।

बीबीसीका उत्तर अमेरिका संवाददाता निक ब्र्यान्ट भन्नुहुन्छ, ‘यसले अमेरिकी कङ्ग्रेसमा व्याप्त ध्रुवीकरण छताछुल्ल भएको छ। यो प्याकेजको समर्थनमा न त माथिल्लो सदन सिनेटमा, न त तल्लो सदन प्रतिनिधिसभामा, एकजना पनि विपक्षी रिपब्लिकनका सदस्यले भोट हालेनन्। जबकि आमअमेरिकीमाझ यसप्रति समर्थन पाइन्छ।’

प्याकेजका सहुलियत

प्याकेजमा अधिकांश अमेरिकीहरूले पाउने गरि एकमुष्ट प्रतिव्यक्ति १४ सय डलरको सहयोग सामेल छ।

यसले बेरोजगारहरूलाई दिने गरिएको साप्ताहिक ३ सय डलरको सुविधा सेप्टेम्बरसम्म जारी राख्नेछ।

साथै यो प्याकेजले राज्य तथा स्थानीय सरकारहरूलाई ३५० अर्ब डलर उपलब्ध गराउनेछ, विद्यालयहरू खुलाउन १३० अर्ब डलर गराउनेछ, कोभिड १९ को परीक्षण र अनुसन्धानमा ४९ अर्ब डलर उपलब्ध गराउनेछ तथा खोप वितरणमा १४ अर्ब डलर छुट्ट्याउनेछ।

राष्ट्रिय न्यूनतम ज्यालादर प्रति घण्टा ७.२५ डलरबाट १५ डलर पुर्‍याउने प्रस्ताव भने सिनेटमा विवादग्रस्त बनेपछि अन्तिम प्याकेजमा पारिएन।

यो प्याकेजप्रति आमअमेरिकीहरूको समर्थन रहेको देखिएको छ।

मार्चमा प्यू रिसर्च सेन्टरले गरेको मत सर्वेक्षणमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले यसको समर्थन गरे जसमा ४१ प्रतिशत रिपब्लिकन पनि थिए।

राष्ट्रपति बाइडनले यो प्याकेजले देशको मेरुदण्ड(आवश्यक सेवाका कर्मचारी, देश निर्माण गर्ने श्रमिक अनि यो देश चलाउने आम मानिस)हरूलाई महामारीको प्रभावसँग जुझ्न सघाउ पुग्ने बताउनुभएको छ।

यसबीच उहाँले अमेरिकीहरूलाई दिलाइसकेपछि उब्रने कोभिड १९ का खोपहरू विश्वसँग बाँड्ने पनि बताउनुभएको छ।

‘यदि हामीसँग खोप उब्रियो भने त्यसलाई हामी बाँकी विश्वसँग बाँड्नेछौँ’,उहाँले भन्नुभयो।

 

Share Now

Leave a comment.