काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीका अध्यक्ष केपी शर्मा ओली आफूले आयोजना गरेको चियापान कार्यक्रमलाई निमन्त्रणा गर्दा वहिष्कार गरेपछि आफ्नै पार्टीका पूर्वअध्यक्ष र महासचिवहरुसंग आक्रोशित हुनुभएको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले ब्युताएपछि उहाँले मंगलबार दिउँसो ११ बजे बालुवाटारमा आफ्नो पार्र्टीका सांसदहरु र केन्द्रीय समितिका सदस्यहरुको लागि चियापान कार्यक्रम आयोजना गर्नुभएको थियो । एमाले अध्यक्ष ओलीले चैत्र ७ गते केन्द्रीय समितिको बैठक पनि बोलाउनुभएको छ ।
तर सो कार्यक्रममा आफूसंग विमति राख्ने शीर्ष नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित गत फागुन २८ गते बसेको आफूपक्षीय केन्द्रीय समितिका सदस्यहरुको बैठकले कारबाही गरेका नेताहरु र उहाँसंग निकट सांसदहरु उपस्थित नभएपछि उहाँले आक्रोशित हुँदै सो प्रश्न गर्नुभएको हो ।
चियापान कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत ओलीले एकथरी अनुहारका साथीहरु नदेखिएको बताउनुभएको थियो ।
‘हिजो बेलुका मैले सुनेँ, बैठक बसेर निर्णय गर्नुभयो पार्टीको चियापानमा नजाने रे’ प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी अध्यक्ष–प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको चियापानमा पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ, नभनौं ।’
‘तर भोलिको राष्ट्रिय भेला गर्नुहुन्छ कि गर्नु हुन्न ? कति तमासा गर्नुहुन्छ त्यता चाहिँ एक नजर राखिनेछ ।’ प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले भन्नुभयो ।
पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आफूप्रतिवफादार केन्द्रीय सदस्यहरुको भेला बोलएर महाधिवेशनवाट निर्वाचित तर उहाँसंग विमति राख्ने पदाधिकारीहरुलाई बर्खास्त गरेपछि एमालेको झलनाथ खनाल(माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आफ्ना समूहको राष्ट्रिय भेला आयोजना गरेको छ ।
चियापान कार्यक्रमका सहभागीहरुलाई संबोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले गुटगत भेलामा नजान पार्टीका नेता-कार्यकर्तालाई निर्देशन समेत गर्नुभएको छ । उहाँले पार्टी अनुशासन उल्लंघन गरे विधान र दलसम्बन्धी कानूनअनुसार कारबाही गर्ने चेतावनी दिनुभएको छ र उहाँले के विर्सनुभयो भने कारवाही त पहिल्यै गरिसकिएको छ ।
पार्टी अध्यक्ष ओलीले अराजकता, अनुशासनहीनता र एकताविरोधी क्रियाकलाप स्वीकार्य नहुने बताउदै भन्नुभएको छ, ‘अचाक्ली भो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो हुन सक्दैन ।अनुशासनहीन भयो भने पार्टीको विधान छ, देशको कानून छ, संसद नियमावली छ, दलसम्बन्धी कानून छ, यो सबैतिर ध्यानाकर्षण गराउँछु ।’
प्रधानमन्त्री ओलीले आफूले फराकिलो हृदय लिएको बताउदै भन्नुभएको छ, यस पार्टीमा कसैमाथि अन्याय हुँदैन, ठूलठूला अपराध भएका छन्, तर पनि फराकिलो हृदय लिएका छौं । लिन्छौं पनि । एकदम अपराध गर्नेहरुलाई पनि स्वागत छ त भन्दिन, तर स्वीकार गर्छौं ।’


















