सानेपा (ललितपुर), ३ चैत्र। सर्वोच्च अदालतले ब्युताएको नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीको विधानको उल्लंघन गर्दै पार्टीभित्र विभाजनकारी भूमिका निर्वाह गरिरहेकोले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीमाथि कारबाही गर्नुपर्ने माग गरेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले पूर्वाग्रही ढंंगले आफ्ना पक्षका नेता र कार्यकर्ताहरुलाई कारबाही गरेपछि आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन ललितपुरको सानेपामा आयोजित पत्रकार सम्मेलनमा सो माग गरेको हो ।
पत्रकार सम्मेलनमा नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले नै विधान विपरीत गुटको भेला गर्दै पदाधिकारीहरुलाई बर्खास्त गर्ने र जिम्मेवारीबाट खोस्ने काम गरेकोले कारबाहीको भागीदार उहाँ नै हुनुपर्ने बताउनुभयो ।
‘अदालतले एमालेलाई ब्युँताइदियो, ब्युँतिएको एमाले पूर्ववत रुपमा जहाँबाट ब्युँतियो त्यहीँबाट आरम्भ गर्नुपर्ने हो, त्यसभन्दा अन्य गतिविधि गर्नु पार्टीको विधान विपरीत काम कारबाही हो’ नेता पाण्डेले भन्नुभयो, ‘त्यो स्वयं नै कारबाहीयोग्य छ । आफैं गलत आधारमा खडा भएको अध्यक्षले अरुलाई कारबाही गर्छु भन्न सुहाउने कुरा भएन ।’
मंगलबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा ओलीले पार्टीमा अचाक्ली भाँडभैलो भएकोले पार्टीको विधान र संसदीय दलको विधान अनुरुप कारबाही गरिने चेतावनी दिनुभएको थियो ।
नेपाल र खनाल समूहले पार्टी विभाजनको गतिविधि ओलीले सुरु गरेको दावी गरेको छ
उनीहरुले पार्टीको अध्यक्ष भएकोले पार्टीलाई एकीकृत राख्ने जिम्मेवारी वहन गर्दै समझदारी र समन्वय उहाँले गर्नुपर्नेमा विभाजनकारी भूमिका खेलेको आरोप पनि आरोप लगाउनुभयो ।


















