काठमाडौं, ४ चैत्र । सर्वोच्च अदालतबाट पुनर्जीवित नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी(नेकपा एमाले) का शीर्ष नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरू हुने भएको छ।
बैठक ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने भएको छ । आयोजकहरुले सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।
बैठकको तयारीबारे जानकारी दिन मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो समूहका नेताहरुले संस्थापन पक्षले कारबाहीको चेतावनी दिए पनि भेला नरोकिने बरु कारबाही भोग्न लाईनमा तयार भएर बस्ने बताउनुभएको थियो।
पुनर्जीवित नेकपा एमालेको पहिलो केन्द्रीय समितिको औपचारिक बैठक नबस्दै पार्टीका अध्यक्ष के.पी.शर्मा ओलीले फागुन २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला गरेर महाधिवेशनबाट निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई बर्खास्त गर्ने, कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहनुभएका आचोलनात्मक धारणा राख्ने नेताहरुको जिम्मेवारी खोस्ने र आफ्ना अन्धभक्तहरुलाई दिने तथा महाधिवेशन वा विधान अधिवेशनलेमात्र फेर्न सक्ने विधानलाई संशोधन गरेर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुलाई आफ्नो पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गराउनुभएको थियो ।
प्रधानमन्त्री समेत रहुनभएका पार्टी अध्यक्ष ओलीले आफूसंग बैचारिक तथा ब्यबहारिक निकटता राख्ने नेता तथा कार्यकर्ताहरुलाई पूर्वाग्रह राखेर कारबाही गर्न थालेपछि नेकपाको नेपाल-खनाल गुटले यस्तो अवैधानिक कारबाहीलाई मान्यता नदिन निर्वाचन आयोगमा लिखित जानकारी गराएको छ ।
नेपाल-खनाल समूहले यसका साथै अध्यक्ष ओलीबाट कारबाही गरिएका पदाधिकारीहरुलाई पूर्ववत जिम्मेवारी दिंदै जिल्ला जिल्लामा समानान्तर समिति गठन गर्न पनि तयार भएको सन्देश दिंदै पार्टीमा विकसित अभूतपूर्व संकटबाट निकास निकाल्नको लागि कार्यकर्ताको राय लिन देशभरका कार्यकर्ताहरुलाई चैत्र ४ र ५ गते राजधानीमा भेला गर्ने निर्णय गरेको थियो ।
यो निर्णयबाट आफूले गरेका संविधान कुल्चेर व्यवस्था समाप्त पार्न गरेको षड्यन्त्र अन्तरगत प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्ने सम्बन्धमा चालेको प्रतिगामी कदम तथा पार्टीलाई तहसनहस पार्न गरिएको अवैधानिक कामकारबाहीका बारेमा यथार्थ जानकारी कार्यकर्तामा जाने भय देखेपछि उहाँले सोमबार बिहान नेकपा शीर्ष नेता माधव नेपाललाई फोन गरेर सुलह गर्न बालुवाटारमा बोलाउनुभएको थियो । तर नेपालले वालुवाटारमा आउन नसक्ने र एक्लाएक्लै पनि वार्ता नहुने जनाएपछि दुवैपक्षका सहयोगीहरु राखेर पार्टी कार्यालय धुम्बराहीमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री ओली र उहाँको पक्षले आज र भोलिका लागि तय एको भेला रोक्न र नेपाल-खनाल समूहले २८ गतेको कारबाही फिर्ता लिनुपर्ने शर्त राखेका थिए ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले नेपाल-खनाल समूहलाई दवाव दिन मंगलबार ११ बजे बालुवाटारमा चियापानको आयोजनामा बोलाउनुभएको थियो । सर्वोच्च अदालतले नेकपा एमाले ब्युताएको र प्रतिनिधिसभाको अधिवेशन पनि सुरु भएकोले केन्द्रीय समिति र सांसदहरुबीच सौहाद्र्र सम्बन्ध कायम गर्न भनेर बोलाइएको चियापान कार्यक्रम नेपाल-खनाल पक्षले बहिष्कार गरेको थियो ।
सो चियापान कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले अनुशासन उल्लंघन गर्नेलाई पार्टीले विधान अनुसार कारबाही गर्ने चेतावनी दिनुभएको थियो भने आज र भोलि हुने भेलामा नजर राखिने पनि बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले नेपाल खनाल समूहमाथि नैतिक दवाव थप गर्न मंगलबार अपरान्ह राष्ट्रपतिलाई सर्वदलीय बैठक बोलाउन पनि लगाउनुभएको थियो । सो बैठकलाई पनि नेकपा एमालेका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनालले बहिस्कार गर्नुभएको थियो ।
यता नेकपाका महासचिव तथा ओली सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि बुधबार बिहान भेलामा सहभागी भएकालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । तर चेतावनी आउनुपूर्व नै पार्टी अध्यक्षको कारबाही भोगेका नेताहरु र जिल्लामा बसेर प्रतिकूलतासंग जुध्दै संगठन निर्माण गरिरहेका कार्यकर्ताहरु सात दशकभन्दा लामो संघर्षबाट आर्जित संघीय गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानसभाले निर्माण गरेको संघीयता,धर्म निरपेक्षता, गणतन्त्र,समानुपातिक र समावेशी सिद्धान्त अंगीकार गरेको र राजनीतिक स्थायित्वको प्रत्याभूति बोकेको वर्तमान संविधानलाई जोगाउन पार्टीलाई सक्षम बनाउन संकल्प बोकेर आएका छन् ।
उनीहरुलाई कसैले रोक्ने अवस्था छैन् । संसदबाट विस्थापित हुनेस्थितिमा पुग्नुभएका प्रधानमन्त्री के.पी. ओलीको चुरीफूरी पदबाट हटेपछि रहदैन भन्ने ज्ञान नेकपा एमालेका कार्यकता र नेताहरुलाई भैसकेको छ ।
भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय समिति सदस्य गरी २ हजार जनाभन्दा बढी सहभागी हुने एमाले नेता योगेश भट्टराईले बताउनुभएको छ।


















