Prakash Adhikari March 19, 2021

 

काठमाडौं, ६ चैत्र । भारतका केही स्थानमा कोरोनाभाइरस फेरि तीव्र रूपले फैलिन थालेपछि प्रतिबन्धहरू लगाउन थालिएको छ ।

भारतमा देखिएको बढ्दो संक्रमणले त्यहाँ काम गर्न गएका नेपालीहरू स्वदेश फर्किन सक्ने सम्भावनाको आकलन गर्दै नेपाल-भारत सीमा क्षेत्रमा सतर्कता अपनाइएको नेपाली अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपाल-भारत सीमामा रहेका १३ वटा हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ।

भारतको महाराष्ट्र, गुजरात, मध्यप्रदेश आदि राज्यमा कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रम बढेको छ।

रोजगारीका लागि भारतमा ठूलो सङ्ख्यामा नेपालीहरू बसोबास गर्ने र नजिकिएको फागु पूर्णिमाका बेला सीमावर्ती क्षेत्र हुँदै आवतजावत बाक्लो हुने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने अधिकारीहरूको भनाइ छ।

अहिलेको अवस्था
कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै गत वर्षको चैत्रमा गरिएको लकडाउन यता नेपाल भारत सीमा क्षेत्रमा यात्रुहरू बोकेका सवारी साधनको आवतजावत बन्द छ।

यद्यपि अधिकांश नाकाबाट मानिसहरू हिँडेरै आवतजावत गरिरहेको बताइन्छ।

झन्डै एक वर्षदेखि रोकिएका यात्रुवाहक सवारीसाधनहरूलाई खुल्ला गर्ने गृहकार्य सरकारी निकायहरूले गरिरहेका छन्।

कोरोनाभाइरस सङ्क्रमणको लक्षण

सङ्क्रमणको स्थिति

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको कुल सङ्ख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ।

बिहीवार एकैदिन नेपालमा थप १०७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्क छ।

त्यसमध्ये काठमाडौंमा ४४, ललितपुरमा ८ अनि भक्तपुरमा ७ जनामा सङ्क्रमण पुष्टि भएको हो।

तर केही महिनादेखि परीक्षणको सङ्ख्या घटेकाले कम सङ्ख्यामा सङ्क्रमण पुष्टि हुने गरेको जनस्वास्थ्यविद्हरू बताएका छन्।

केही समयदेखि नेपालमा पनि क्रमिक रूपमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेको सङ्केत देखा परेको भए पनि अहिले नै त्यसो भनिहाल्न मिल्ने अवस्था नरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुप बास्तोलाले बताउनुभयो ।

अहिले उक्त अस्पतालमा कोरोनाभाइरस सङ्क्रमण भएका तीन जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइराखेको उहाँले जानकारी दिनुभयो।

‘जुन हिसाबले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोडिएको छ सङ्क्रमण फैलिन सक्छ भन्ने सम्भावनाका विषयमा दुई मत रहेन। तर अहिलेसम्मको अवस्था भने स्थिर देखिन्छ’, उहाँले भन्नुभयो।

क्वारन्टीन
क्वारेन्टाइन : गत वर्ष सशस्त्र प्रहरीले दशगजामा क्वारेन्टाइन बनाएको थियो

केही दिनदेखि सीमा-नाकालक्षित योजना बनाइरहेका अधिकारीहरूले अब सीमा क्षेत्रमा लक्षण देखिएकाहरूलाई परीक्षण गरेर मात्रै देशभित्र आउन दिइने तयारी रहेको बताएका छन्।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बीबीसीसँग भन्नुभयो, ‘भारतका कुनै सहरमा रात्रिकालीन कर्फ्यू र नागपुरजस्तो सहरमा लकडाउन नै कार्यान्वयन हुँदा कामको सिलसिलामा रहेका नेपालीहरू बस्न गाह्रो भएर नेपाल फर्केर आउनुहुन्छ कि भन्ने हिसाबले हामी सचेत छौँ।’

‘त्यहाँ जति कडाइ गरिँदै जान्छ नेपाल फर्केर आउने क्रम बढ्न सक्छ।ु’

‘त्यसैले हाम्रो पहिलो काम प्रवेशबिन्दुहरूमा रहेका हेल्थ डेस्कहरूलाई थप सचेत बनाउने र जिम्मेवारी थप्न लागेका छौँ।'(बीबीसीबाट)

Share Now

Leave a comment.