Prakash Adhikari March 19, 2021

काठमाडौं, ६ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले साँझ ५ : २० मा प्रकाशित गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइए अनुसार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौं महानगरपालिका वडा नं.७ चावहिल निवासी अधिवक्ता श्री रमेश वडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उहाँको शपथ ग्रहण आइतबार हुने जानकारी दिनुभएको राससले जनाएको छ ।

यस अगाडि आज दिउँसो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट प्रधानमन्त्री के.पी. शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको थियो ।

महान्यायाधिवक्तालाई सरकारको कानूनी सल्लाहकार मानिन्छ । यस हिसावले प्रधानमन्त्री र राष्ट्रपतिको समेत कानूनी सल्लाहकारको भूमिकामा महान्यायाधिवक्ताले काम गर्न पाउने र नेपाल सरकारभएका निर्णयहरुको प्रतिरक्षा गर्ने जिम्मेवारी उहाँमा रहन्छ ।

Share Now

Leave a comment.