रियाद(साउदी अरेबिया), १० चैत्र(बीबीसी) । यमनमा भएको झण्डै छ वर्षको युद्ध अन्त्यका लागि साउदी अरेबियाले एउटा नयाँ शान्ति योजना प्रस्ताव गरेको छ।
उसले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथीविद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको छ।
यो प्रस्तावमा राजनीतिक वार्ता सुरु गर्न र महत्त्वपूर्ण हवाई तथा जलमार्ग पुनः खोल्ने विषय पनि समेटिएको छ।
यमन सरकार र संयुक्त राष्ट्रसंघले यो योजनाको स्वागत गरेका छन्।
हुथीले समूहको भनाई
यो प्रस्तावको घोषणा साउदी राजधानी रियादमा विदेशमन्त्री फैसल बिन फरहानले गर्नुभएको हो। उहाँले यमनको ठूलो भूभागलाई नियन्त्रणमा लिएको हुथीहरूलाई यो प्रस्ताव स्वीकार गर्न आह्वान पनि गर्नुभयो।
उहाँले हुथीहरूले स्वीकार गर्ने बितिक्कै युद्धविराम कार्यान्वयनमा जाने पनि बताउनुभयो।
तर हुथी विद्रोहीहरूले भने यसमा ुकेही नयाँ नभएकोु भनेका छन्। हवाई र जलमार्गमा लगाइएको नाकाबन्दी पहिला हटाउनुपर्नेमा उनीहरुको जोड रहेको छ।
हुथीका प्रमुख वार्ताकार मोहम्मद अब्दुसलामले रोयटर्स समाचार संस्थासँग आफूहरूले साउदी, अमेरिका र मध्यस्थकर्ता ओमानसँग शान्ति सम्झौताका लागि निरन्तर कुरा गर्ने बताए।

हुथी विद्रोही
साउदी अधिकारीहरूले आफ्नो कदमबारे संयुक्त राष्ट्रसंघ र अमेरिकासँग समन्वय गरिरहेको बताएका छन्।
विश्वकै खराब मानवीय सङ्कट निम्त्याएको युद्ध अन्त्य गर्ने प्रयासमा संयुक्त राष्ट्रसङ्घ र अमेरिका पनि जुटेका छन्।
देशव्यापी युद्धविराम गर्ने अमेरिकी योजना हुथीहरूले केही दिनअघिमात्रै अस्वीकार गरेका थिए।
यसअघि गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताउनुभएको थियो।
छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा १ लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको ठानिन्छ।
संयुक्त राष्ट्रसङ्घले यमनमा ८० प्रतिशत जनसङ्ख्या सहायता र संरक्षणको खाँचोमा रहेको भन्दै त्यहाँ विश्वकै खराब मानवीय सङ्कट रहेको जनाएको छ।


















