जेरुसेलम(इजरायल), ११ चैत्र (बीबीसी) । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दुई वर्षमा भएको चौथो निर्वाचनमा ठूलो जितको दाबी गर्नुभएको छ।
यद्यपि मत खसालेर बाहिर निस्किएका मतदातामाझ गरिएको एक्जिट पोल सर्वेले भने संसद्मा बहुमत ल्याउन उहाँको दल विफल हुनसक्ने देखाएको छ।
उनको लिकुड पार्टी र त्यसका साझेदारहरूले १२० सिटमध्ये ५३ वा ५४ ल्याउने प्रक्षेपण गरिएको छ।
यसको अर्थ नेतान्याहुका पहिलाका वफादार नेता नफताली बेनेटको राष्ट्रवादी यामिना पार्टी सत्तामा कसलाई ल्याउने भन्नेमा निर्णायक हुनसक्छ।
उक्त पार्टीले सात वा आठ सीट जित्ने अनुमान गरिएको छ तर उसले कुन पक्षलाई समर्थन गर्छ भन्ने घोषणा गरिसकेको छैन।
‘इजरायललाई जे गर्दा राम्रो हुन्छ म त्यही गर्नेछु’, मत सर्वेक्षण सार्वजनिक भएपछि एउटा संक्षित्प विज्ञप्तिमा नेता बेनेटले भन्नुभएको छ।
उहाँले आफ्नो नयाँ राजनीतिक कदम चाल्नुअघि मतको अन्तिम परिणाम कुर्नेबारे नेतान्याहुलाई भनिसकेको पनि बताउनुभयो।
चुनावी अभियान
इजरायलको निर्वाचनसम्बन्धी केन्द्रीय कमिटीले कोरोनाभाइरसको प्रतिबन्धका कारण बुधवारअघि सबै मतहरूको गणना नसकिने ठानेको छ।
‘इजरायलका जनता ! धन्यवाद !!’ नेतान्याहुले मङ्गलवार ट्वीटमा भन्नुभयो। ‘तपाईँहरूले दक्षिणपन्थी र मेरो नेतृत्वको लिकुडलाई ठूलो जित दिनुभयो। अहिलेसम्म लिकुड सबैभन्दा ठूलो पार्टी हो।’
‘धेरै इजरायलीहरू दक्षिणपन्थी रहेको र उनीहरू एउटा स्थायी र सशक्त दक्षिणपन्थी सरकार चाहन्छन् भन्ने स्पष्ट छ’, उहाँले थप्नुभयो।
निर्वाचनका लागि योग्यमध्ये जम्मा ६७.२ प्रतिशतले मत खसालेका छन्। यो चुनावलाई नेतान्याहु नेतृत्वको जनमतसङ्ग्रहका रूपमा हेरिएको छ।
७१ वर्षीय प्रधानमन्त्रीको अभियान कोभिड १९ को खोप कार्यक्रममा केन्द्रित थियो र उहाँका कूटनीतिक सफलता केही अरब मुलुकहरूका सम्बन्ध सामान्य बनाउनेमा थियो।
तर राजनीतिक वृत्तका उहाँका विपक्षीहरूले भ्रष्टाचारको अभियोग लाग्दा उहाँ पदमा बस्न नहुने तर्क गरेका छन्। उहाँले भने आफूमाथिका अभियोग अस्वीकार गर्नुभएको छ।
विगतका तीनवटा चुनाव हुँदा न नेतान्याहुले न उहाँका प्रतिद्वन्द्वीले नै स्थायी सरकार सञ्चालन गर्ने गठबन्ध बनाउन सकेका थिए।
सत्ता बाँडफाँटको सम्झौताको परिणाम स्वरूप बनेको अहिलेको राष्ट्रिय एकताको सरकार सात महिनामै गत डिसेम्बरमा ढलेको थियो।


















