काठमाडौँ, १२ चैत्र । यती एअरलाइन्सले काठमाडौ–वनारस–काठमाडौँको परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।
दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा चार्टर÷नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा केही महिना अघि यतीले निवेदन दिएको थियो ।
अन्तर्राष्ट्रिय उडानका लागि प्राधिकरणको नियमानुसार यतीले परीक्षण उडान गरेको एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभएको छ ।
यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले अन्तराष्ट्रिय उडानको लागि प्राप्त गर्ने अनुमति अन्तिम चरणमा पुगेको छ ।
बुधबारको उडानको प्रतिवेदनसँगै केही दिन भित्र यति एअरलाइन्सले अन्तराष्ट्रिय उडानको एओसी प्राप्त गर्नेछ ।
यो परीक्षण उडान एअरलाइन्सका वरिष्ठ चालक रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेल सहितको उडान दलले गरेको थियो । 9N-AMN एटीआर–७२ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट विहान १०ः०७ बजे लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाई अड्डा वाराणसी, भारत का लागि उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौँमा अवतरण गरेको थियो ।
उक्त परीक्षण उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा एअरलाईन्सका अफिसियलहरुको सहभागिता रहेको प्रवक्ता बर्तौलाले जानकारी दिनुभएको छ ।
उहाँले नयाँ बन्ने क्षेत्रीय विमानस्थललाई नजिकका अन्तराष्ट्रिय गन्तव्यलाई जोड्न र धार्मिक पर्यटकलाई भित्र्याउने उद्देश्यका साथ अन्तराष्ट्रिय उडानको तयारी थालिएको बताउनुभयो ।
यती एअरलाइन्सले आगामी दिनमा मध्यम दूरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्य समेत राखेको छ ।
यती एअरलाइन्स र यती गुप्रले ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी र होटलमार्फत स्वदेशी तथा विदेशी पर्यटनलाई सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रमा योगदान दिंदै आएको छ ।
उसले आगामी दिनमा चार्टर उडान मार्फत थप पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
सन् २०२१ भित्रै दुईवटा एटीआर–७२ वायुयान थप्ने योजना बनाएको यो कम्पनीले अहिले एटिआर–७२ र जेटस्ट्रिम विमानहरुमार्फत विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।


















