काठमाडौं, १४ चैत्र । एक गैरसरकारी संस्थाले हालै गरेको मत सर्भेक्षणले राजनीतिक दलका नेताहरुमा रहेको परिकल्पना र दूरदर्शिताको अभाव, संर्कीण मानसिकता, सबैलाई समेट्न सक्ने उदार भावना, नेतृत्तक्षमताको अभाव र बढ्दो भ्रष्टाचार ले मुलुक गलत दिशातिर अग्रसर भैरहेको निष्कर्ष सार्वजनिक गरेको छ । तर यस्तो निराशाको बीचमा पनि स्थानीय तहबाट सम्पादन भएका कामहरुमा भने सहभागीहरुले सन्तोष प्रकट गरेका छन् ।
मत सर्वेक्षणका सहभागीहरुले देशमा रहेका राजनीतिक दलहरु मध्ये नेपाली कांग्रेस नै सबैभन्दा भरपर्दो रहेको बताएका छन् भने आधाभन्दा केही बढीले हिन्दु राज्य कायम गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । लगभग आधाले भने अहिले भएको धर्मनिरपेक्षता नै उपयुक्त भएको बताएका छन् ।
शेअरकास्ट नामक संस्थाले हालै गरेको वैचारिक मत सर्वेक्षणमा सहभागी ५ हजार ८२ मध्ये झन्डै आधा अर्थात् ४४.३ प्रतिशतले देश गलत दिशामा गइरहेको बताएका उक्त संस्थाले जनाएको छ।
केवल २१.९ प्रतिशत सहभागीले मात्र देश सही दिशामा गइरहेको बताएको उसले उल्लेख गरेको छ ।
देश गलत दिशामा गएको बताउनेहरूलाई मुख्य कारण सोध्दा सबभन्दा धेरैले राजनीतिक दलहरूबीचको द्वन्द्वलाई औँल्याएका देखिएको छ। अरू कारणमा क्रमशः राजनीतिक अस्थिरता, कमजोर नेतृत्व, भ्रष्टाचार तथा गलत नीतिहरू रहेको उनीहरूले बताएका छन्।
अहिले देशको जल्दोबल्दो समस्या कुन हो भन्ने प्रश्नमा आधाभन्दा धेरै सहभागीले बेरोजगारीलाई औँल्याएका छन्। त्यसपछि गरिबी तथा अभाव, महँगी र भ्रष्टाचारलाई मत सर्वेक्षणका सहभागीहरूले मुख्य समस्या ठानेका छन्।
सङ्घीय सरकारले तत्काल गर्नुपर्ने मुख्य तीन वटा कामहरू के हुन् भनेर सोध्दा सहभागीहरूले बहु उत्तर दिएका थिए।
त्यसलाई केलाउँदा सबभन्दा धेरैले औँल्याएको काम रोजगारी सिर्जना रहेको देखिएको छ भने एक तिहाइले गरिबी निवारण तथा त्यति नै सङ्ख्याले सडक निर्माण भनेका छन्। भ्रष्टाचार नियन्त्रण र शिक्षामा सुधारजस्ता विषय त्यसपछि औँल्याइएका छन्।
प्रतिपक्षी कांग्रेसप्रति बढ्ता विश्वास
वैचारिक मत सर्वेक्षणमा सहभागीहरूलाई देशमा लोकतन्त्र वा गणतन्त्रलाई बलियो बनाउनका लागि सबैभन्दा भरपर्दो राजनीतिक दल कुन होला भनेर पनि सोधिएको थियो।
प्राप्त जबाफलाई केलाउँदा झन्डै आधा सहभागीले जबाफै दिन चाहेनन् र भनेनन्।
करिब १३.४ ले चाहिँ नेपाली कांग्रेसको नाम लिएका देखिएको छ भने दोस्रो स्थानमा केपी ओली नेतृत्वको नेकपा ९.६ प्रतिशत अनि तेस्रोमा तत्कालीन माधव । प्रचण्ड नेतृत्वको नेकपा ४.१ प्रतिशत देखिएको छ।
वैकल्पिक राजनीति अँगालेको बताउने साझा विवेकशीलको नाम ०.२ प्रतिशत सहभागीले लिएका मत सर्वेक्षणको नतिजाले देखाएको छ।

देउवा ओली
दलहरूको मात्र हिसाब गर्दा नेपाली कांग्रेस ३५.४ प्रतिशतले सबभन्दा अगाडि अनि त्यसपछि ओली नेतृत्वको नेकपा २५.३ प्रतिशत र तत्कालीन माधव । प्रचण्ड नेतृत्वको नेकपा १०.८ प्रतिशत रहेको देखिएको छ।
कसको कुरा कति पत्याउनुहुन्छ भनेर सोधिएको प्रश्नमा सबभन्दा धेरै पत्रकारको पत्याउने र सबभन्दा कम मन्त्रीहरूको पत्याउने जबाफ सहभागीहरूले दिएका देखिन्छ।
मत सर्वेक्षणका सहभागीहरूलाई प्रश्न सोध्दा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सांसद, नेता, मेयररउपमेयर, वडाध्यक्ष, न्यायाधीशरवकिल तथा पत्रकारमध्ये कसको कति कुरा पत्याउनुहुन्छ भनेर सोधिएको सो मत सर्वेक्षण गर्ने संस्थाले जनाएको छ।
साथै कुन स्रोतबाट प्राप्त समाचार बढी विश्वसनीय लाग्छ भन्ने प्रश्नमा धेरैको रोजाइ ६२.४ प्रतिशत रेडियो रहेको छ। त्यसपछि टेलिभिजन तथा पत्रपत्रिका रहेका देखिएको छ।
नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ वा अहिलेकै जस्तो धर्मनिरपेक्षता भएको ठिक छ भन्ने प्रश्नको जबाफमा ५१.७ प्रतिशत ले हिन्दुराष्ट्र हुनुपर्छ भनेका र ४०.३ प्रतिशतले अहिलेकै अवस्था ठिक छ भनेका सर्वेक्षणको नतिजामा जनाइएको छ।
स्थानीय तहको काम धेरै सन्तोषजनक
नयाँ संविधान अनुसार तीन तहको सङ्घीय संरचना लागु भएको तीन वर्षभन्दा धेरै भइसकेको छ।
मत सर्वेक्षणमा सहभागीहरूलाई यो अवधिमा कसको काम कति सन्तोषजनक भनेर पनि सोधिएको थियो।
सङ्घीय सरकारको हकमा एक तिहाइ सहभागीहरूले मात्र गत तीन वर्षमा सङ्घीय सरकारले गरेका कामहरूबाट आफू सन्तुष्ट भएको बताएका जनाइएको छ।
प्रदेश सरकारको हकमा पनि लगभग उही अनुपातमा सहभागीहरूले सन्तुष्टि जनाएका छन्।
तर स्थानीय तहको कामप्रति भने मत सर्वेक्षणका ५० प्रतिशत सहभागीले सन्तोष प्रकट गरेका छन्।
सर्भेक्षणको विश्वसनीयता
विश्वभरि नै थोरै मानिसहरूको नमूनामा गरिने वैचारिक मत सर्वेक्षणहरूले देश वा वर्तमान अवस्थाको पूर्ण यथार्थ तस्बिर नदिए पनि केही झल्को भने दिने ठानिन्छ।
नेपालमा यस्ता मत सर्वेक्षणहरूको महत्त्व र विश्वसनीयता कति छ?
लामो समयदेखि मत सर्वेक्षणहरू गराउँदै आएका तथा समाजशास्त्री सुधिन्द्र शर्मा भन्नुहुन्छ, ‘जुन सन्दर्भमा मानिसहरूले आफ्नो मत मात्र प्रकट गर्छन् त्यसले मोटामोटी यथार्थ तस्बिर नै प्रदर्शन गर्छ।’
तर नेपालमा विगतमा खासगरी निर्वाचन नतिजा सम्बन्धी गरिएका मत सर्वेक्षणहरू यथार्थभन्दा केही पर रहेको पाइएको छ।
त्यसका निम्ति मत सर्वेक्षणहरूमा थप सुधार हुँदै जानुपर्ने उहाँले उल्लेख गर्नुभएको छ।
ूवैज्ञानिक ढङ्गले गरिने मत सर्वेक्षणहरूको आफ्नै महत्त्व हुने गर्छ। नेपालमा प्रमाणलाई महत्त्व नदिईकनै ‘विज्ञ भनाउँदाका’ टिप्पणी मात्र दिने सन्दर्भ छ। यस्तो सन्दर्भमा वैज्ञानिक मत सर्वेक्षणले सही आँकडा दिन्छ’, शर्माले भन्नुभयो।
यो मत सर्वेक्षण शेअरकास्ट नामक संस्थाले फागुन ९ देखि २३ गतेसम्म देशभरका विभिन्न ५ हजार ८२ परिवारमा गरिएको टेलिफोन कुराकानीमा आधारित भएको सो संस्थाले जनाएको छ।
सातै प्रदेशका १६ वर्षभन्दा माथि उमेरका मानिसहरूलाई मत सर्वेक्षणमा समेटिएको उसले जनाएको छ।(बीबीसीबाट)


















