काठमाडौं,१४ चैत्र । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारीको सेटिड. तोड्न नसक्दा राजनीतिक दलहरु छिन्नभिन्न हुने अवस्था सिर्जना भएको बताउनुभएको छ ।
बृहत् नागरिक आन्दोलनले शनिवार आयोजना गरेको कार्यक्रममा उहाँ सो कुरा बताउनुभएको हो ।
‘सेटिङ गरेको भन्ने ओली पक्षले कुरा गरिरहेका थिए। सार्वजनिक रुपमा प्रतिरोध भएपछि जनताको बलमा तोडियो । हामीले एउटा ब्याटल जित्यौँ ।’ उहाँले भन्नुभयो, ‘हामीले सोच्यौँ संसद पुनःस्थापनापछि ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको हो। त्यो निर्णयपछि हामीले राजनीतिक रिल्याक्स गरेका थियौँ। लोकतन्त्रको विरुद्ध डिजाइन छ भनेर हामीले तयारी गर्नुपर्थ्यो तर, हामी त्यहाँ चुक्यौँ।’
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकता भंग गर्ने सर्वोच्चको दुई न्यायाधीशको निर्णय अस्वभाविक भएको दाबी गर्दै भन्नुभयो, ‘हामीले विवादित निर्णय मानेका छौँ। तर, त्यो निर्णय सहि छैन। त्यसैले पुनरावलोकन जान्छौँ ।’
उहाँले तत्काल सरकारको समर्थन फिर्ता नलिन आफूमाथि चर्को दबाव रहेको बताउनुभयो ।
‘समर्थन फिर्ता नलिन ममाथि दबाव छ। हतार गरेर समर्थन फिर्ता लियो भने अर्को कुरा हुन्छ। अब म धेरै दिन कुर्ने वाला छैन। छिट्टै अगाडि बढ्छु। सबै राजनीतिक दलहरूको साझा सहमति कुरिरहेको छु।’ अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।
ओलीको प्रतिगमनविरुद्ध साझा धारणा बनाउनुपर्ने उहाँको भनाई छ।
प्रतिगमन गर्ने एउटा, सजाँय अर्कोले पाउने : नेता नेपाल
नागरिक आन्दोलनका अगुवासंग नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिगमनका बारेमा राजनीतिक नेतृत्वलाई सजग गराइराख्न आवश्यक भएको बताउनुभयो ।
अन्तरक्रियामा बोल्दै उहाले भन्नुभयो, ‘अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्छ। हामी त्यसको पक्षमा छौँ। म सबै प्रकारको चुनौती सामना गर्न तयार छु।’
उहाँले लोकतान्त्रिक प्रक्रियामा हिंडिसकेको कम्युनिस्ट पार्टीमा अधिनायकवाद स्वीकार्य नभएको बताउदै भन्नुभयो, मूल मान्छेबाट पार्टीको विधान मिच्ने काम भइरहेको छ। हामी त्यही उपचार गर्न खोजिरहेका छौँ ।’
उहाँले नागरिकहरु सचेत नभए प्रतिगमनको चक्र पूरा हुने खतरा रहेको र त्यसले हालसम्म हासिल भएका लोकतान्त्रिक तथा नागरिक अधिकार गुम्न सक्ने बताउदै अहिले प्रतिगमनकारी पुरस्कृत हुने र त्यसको विरोधमा लाग्नेहरुलाई दण्डको भागिदार बनाउने वातावरण तयार पार्न खोजिएको संकेत गर्नुभएको थियो ।


















