चिनिया सहयोगको ८ लाख मात्रा खोप आइपुग्यो नेपाल ; डब्ल्युएचओले मान्यता दिएपछि मात्रै खोप लगाउने योजना
काठमाडौं, छिमेकी राष्ट्र चीन सरकारले सहयोगस्वरुप दिएको घातक कोरोना भाइरसविरोधी ८ लाख मात्रा खोप काठमाडौं ल्याइएको छ।
चीनको राजधानी बेइजिङबाट सहयोगको खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज सोमबार बिहान काठमाडौं आइपुगेको हो।
नेपाल आइपुगेको खोप नेपालका लागि चिनिया राजदूत होउ यान्छीले त्रिभुवन विमानस्थलमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको थियो।
https://twitter.com/PRCAmbNepal/status/1376414956589998083
चीन सरकारले आफ्नो देशमा उत्पादन गरेको कोरोनाविरुद्ध ‘भेरासेल’ खोप नेपाललाई सहयोग दिएको हो। त्यहाँको सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसम्म भण्डारण गर्न सकिने विज्ञले बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनको निर्णयपछि मात्र लगाइने
कोरोना भाइरसको संक्रमणबाट जोगिन यो खोप पनि दुई मात्रा लगाउनुपर्छ।
नेपाल ल्याइएको उक्त खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने अधिकारीहरूले सङ्केत गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा अधिकारीहरू रहेको बुझिएको छ।
यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ।

कति खोप आउँदैछ ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार चीनबाट ८ लाख मात्रा खोप नेपाल आउँदै छ।
चिनियाँ दूतावासले पनि फेसबुकमा तस्बिर राख्दै ८ लाख मात्रा खोप नेपाल ल्याउनका लागि बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जनाएको थियो।
नेपालले प्राप्त गर्ने उक्त खोप ४ लाख जनालाई लगाउन पुग्ने अधिकारीहरूले बताए।

कोभीशील्ड खोप
यसअघि भारतीय अनुदान, भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनिएको र कोभ्याक्स सुविधा अन्तर्गत नेपालले खोप प्राप्त गरिसकेको छ।
सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ।
चिनियाँ खोपको उपयोगको योजना बन्दै
सहप्रवक्ता अधिकारीले खोप आइसकेपछि मन्त्रालयले कुन समूह र कहाँका व्यक्तिलाई कसरी खोप लगाउने भन्ने तय गर्ने जानकारी दिनुभएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार सरकारले चाँडै नै उक्त खोपबारे निर्णय गर्नेछ।
त्यस्तो निर्णय गर्नका लागि राष्ट्रिय खोप सल्लाहकार समितिका सुझावहरूलाई समेटिने उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो , ‘राष्ट्रिय खोप सल्लाहकार समितिले पछि चिन्न सकिने र सजिलै पहिचान गर्न सकिने संगठित समूहलाई खोप दिनुपर्छ भन्ने सुझाव दिएको छ। हामी त्यसलाई कार्यान्वयन गर्छौँ।’
अधिकारीहरूका अनुसार अहिले नै ठूलो सङ्ख्यामा खोप उपलब्ध नभइसकेकाले सकेसम्म बढी संवेदनशील र खोपको आवश्यकता भएको समूहका व्यक्तिहरूलाई उक्त खोप दिइनेछ।

कोभिशील्ड खोप भक्तपुर
डब्लूएचओको निर्णय पर्खन सुझाव
राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त चिनियाँ खोप डब्लूएचओको निर्णयपछि प्रयोग गर्न सुझाव दिएको समितिका अध्यक्षले बताउनुभएको छ।
अध्यक्ष डा. रमेशकान्त अधिकारीका अनुसार चिनियाँ खोप नेपाल आएर सरकारले कसलाई उक्त खोप दिने भन्ने निर्णय गरुन्जेल डब्लूएचओको निर्णय पनि आउने अपेक्षा गरिएको छ।
डा.अधिकारीले भन्नुभयो, ‘हाम्रो कानुनले त उत्पादन भएको मुलुकमा प्रयोग भइरहेको खोपलाई प्रयोगको अनुमति दिन मिल्छ। तर हामीले डब्लूएचओको निर्णय भइसकेपछि व्यवस्था मिलाएर प्रयोग गर्न सुझाव दिएका छौँ।’
यसै महिना (मार्च)को अन्त्यसम्ममा उक्त खोपले आकस्मिक प्रयोग अनुमति पाउनसक्ने डब्लूएचओका अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई बताइसकेका छन्।
गौतम पनि नेपालले प्रयोग गर्ने बेलासम्म डब्लूएचओले उक्त खोपलाई आकस्मिक प्रयोगको सूचीमा राखे नेपाललाई प्रयोग गर्न सहज हुने बताउनुभयो।
चिनियाँ खोपका विशेषता
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई अक्सफर्ड आस्ट्राजेनेकाले उत्पादन गरेको कोभिशील्डको जस्तै तापक्रममा भण्डारण गर्न सकिने गौतमले जानकारी दिनुभयो।
उहाँका अनुसार सिनोभ्याकको खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ।
यो खोप दुई मात्रा लगाउनुपर्छ। पहिलो मात्र लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ।
विभिन्न परीक्षणहरूमा चिनियाँ खोप कोभिशील्डभन्दा बढी प्रभावकारी देखिएको उहाँले बताउनुभयो।
यद्यपि किन्दाखेरि यो खोप कोभिसिल्डको तुलनामा महँगो पर्ने बताइएको छ।

खोप
कतिले खोप लगाए ?
अधिकारीहरूका अनुसार आइतवारसम्म नेपालमा १७ लाख ९० हजार १ सय २५ जनाले कोरोनाभाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेका छन्।
त्यो भनेको नेपालको कुल जनसङ्ख्याको ५.९३ प्रतिशत हो।
पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकाहरूले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा खोप लगाउन पाउनेछन्।
अहिले नेपालमा करिब साढे ५ लाख मात्रा खोप बाँकी रहेको छ भने भारतको सीरम इन्स्टिट्यूट अफ इन्डियाबाट १० लाख मात्रा आउन बाँकी छ


















