Prakash Adhikari April 14, 2021

काठमाडांैं, १ बैशाख । पूर्व राजा ज्ञानेन्द्र शाहले देश बचाउने पालो आफूमा आएको बताउनुभएको छ ।

नयाँ बर्ष २०७८ को उपलक्ष्यमा भारतको हरिद्धारबाट उहाँले समस्त नेपालीलाई दिनुभएको सन्देशमा भन्नुभएको छ, “मेची काली देश बचाउने हाम्रो पाली ।”

भारतको हरिद्धारमा लाग्ने कुम्भ मेलामा सहभागी हुन जानुभएका पूर्वराजाले ज्ञानेन्द्र शाहले भन्नुभएको छ ‘टाठाबाठा मात्र सुखी सम्पन्न र सुविधाभोगी हुँदै जाने र अरु निमुखा सर्वसाधारणहरूको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नै पर्छ।’

कुम्भ मेलाका आयोजक सन्त,महन्थ र भारतीय जनता पार्टीका कट्टरपन्थीी हिन्दु नेताहरुबाट नरेशको सम्बोधनसहित न्यानो अतिथि सत्कार पाउनुभएका पूर्वराजा शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमानदारिता सबैमा हुनुपर्ने उल्लेख गर्दै यसका निम्ति आपसी भाँडभैलो र द्वन्द्वको अन्त्य हुनुपर्ने बताउनुभएको छ।

पूर्व राजा शाहले नेपाली जनताको आकांक्षा पूरा हुँदै जानुपर्छ भन्ने आफूहरुको कामना रहेको बताउदै आम नागरिकमा रहेको सुख, शान्ति, समुन्नति र सन्तुष्टिको अपेक्षा, आशा, अभिलाषा चकनाचुर हुँदै गएकोमा असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ।

‘हाम्रा पिता, पुर्खा तथा त्यागी वीर वीरांगनाहरूले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहारसुसार गर्नु र सजाउनु छ,’ पूर्व राजाले भन्नुभएको छ, ‘यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाल बिना भेदभाव र बिना संकोच मिलेर जानु छ।’

https://youtu.be/w28EeR_LKog

उहाँले अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवम् वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने बताउनुभएको छ।

शाह भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भैरहनुभएका पूर्व राजाले ‘फुटेर हैन, शक्ति संरक्षण गरौं जुटेर’ भन्नुभएको छ।

पूर्व राजाले ‘एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन, सबैको एउटै उद्देश्य हुनुपर्छ, देशको उन्नति र अधोगति हामीहरूकै हातमा छ भन्दै निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउन पनि सबैमा आग्रह गर्नुभएको छ ।

पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु अत्यावश्यक रहेको बताउदै पूर्वराजा शाहले भन्नुभएको छ, नेपाल हाम्रो पहिचान हो र सनातन हाम्रो संस्कार हो । ‘न जाति न भाषा, सबै नेपालीको एउटै आशा।’

‘नेताहरुको शैलीमा पूर्व राजाले भन्नुभएको छ, पहाडका गाउँ(गाउँमा आधुनिकताको लहर विस्तार गरौैं, तराईका फाँटहरूलाई झुलाउँ र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफूल प्रशोधन बनाऔं, जडिबुटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपूर्ण पारौं ।’

Share Now

Leave a comment.