काठमाडौंल५ वैशाख। गृहमन्त्री रामबहादुर थापा मगर (बादल) राष्ट्रिय सभाको सांसद पद चट् भएको छ ।
आजै राष्ट्रिय सभा सचिवालयले उहाँको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेसंगै उहाँको पद गएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उहाँलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।
राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गर्नुभएबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गर्नुभएको तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।
सांसद पद जाने वित्तिकै मन्त्री पद जान्छ कि जाँदैन भन्नेमा वर्तमान संविधान स्पष्ट छैन् । संविधानले सांसद नरहेको व्यक्तिलाई पनि प्रधानमन्त्रीले ६ महिना मन्त्री बनाउन सक्ने सहुलियत दिएको छ । त्यसपछि निरन्तरता दिन मन्त्री नियुक्त व्यक्ति संघीय संसदको कुनै एक सदन (प्रतिनिधिसभा वा राष्ट्रिय सभा)को सदस्य बन्नु पर्दछ ।
संविधानले मन्त्री पद रिक्त हुने सम्बन्धमा धारा ७७ को उपधारा २ मा यस्तो व्यवस्था गरेको छ :
७७(२) देहायको अवस्थामा मन्त्रीपद रिक्त हुनेछ :
(क) निजले प्रधानमन्त्री समक्ष लिखित राजिनामा दिएमा
(ख) प्रधानमन्त्रीले निजलाई पदमुक्त गरेमा
(ग) उपधारा (१)को खण्ड (क),(ख),(ग) बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा
(घ) निजको मृत्यु भएमा
गृहमन्त्री बादलका हकमा यी कुनै शर्त लागू भएका छैनन् । यसैले उहाँको मन्त्री पद के हुन्छ र पुनर्नियुक्ति गर्न पर्छ पर्दैन कानूनी प्रश्नमा अल्झेको छ ।


















