काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष के.पी. शर्मा ओलीले संघीय संसद र प्रदेश सभाका गरी ३२ जना सांसदहरुलाई कारबाही गर्न कालागि स्पष्टीकरण सोध्नुभएको छ ।
मंगलबार पार्टी अध्यक्ष ओलीले आफ्नो कार्यशैलीको विरुद्धमा मुखर भएर उत्रिएका संघीय संसदका २७ र प्रदेश सभाका ५ सहित नेकपा एमालेबाट निर्वाचित ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोध्नुभएको पार्टीको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताउनुभएको छ ।
‘माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ जनालाई आज पत्र पठाइएको छ’, रिजालले पुष्टी गर्नुभयो । स्पष्टीकरणको प्रेमपत्र पाउनेहरुमाथि पार्टी विधि विधान उलंघन गरेको आरोप लगाइएको छ ।
नेताहरुलाईतीन दिनभित्र प्रष्टिकरण पेश गर्न भनिएको छ । स्पष्टीकरणमा ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’ भन्ने जस्ता प्रश्नहरु राखिएका छन् । एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाल,भीम रावल,सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा
, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने, रामकुमारी झाक्रीसंग स्पष्टीकरण सोध्नुभएको छ ।
उहाँले कर्णाली प्रदेशमा पार्टीले लगाएको ह्वीप उल्लंघन गर्ने पाँच जना प्रदेश सांसदहरुलाई पनि स्पष्टीकरण सोध्नुभएको छ । पार्टीभित्र ओली पक्षले नेपाल खनाल समूहलाई अति पेल्न थालेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिनुभएको विश्वासको मतमा नेकपा एमालेका सभासद्हरु प्रकाश ज्वाला,नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापाले ह्वीप उल्लंघन गर्नुभएको थियो । पार्टी अध्यक्ष ओलीले प्रदेशसभासद् देवी ओलीलाई पनि स्पष्टीकरण सोध्नुभएको छ ।


















