काठमाडौं, ८ बैशाख । नेपालमा विगत २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
त्यस अवधिमा देशभरि पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २ सय २० जना र एन्टिजन विधिबाट १ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो।
सो अवधिमा देशभरिका प्रयोगशालाबाट ८ हजार ८ सय ४४ नमुनाको पीसीआर र ८ सय ३ जनाको एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका जनाइएको छ।
मन्त्रालयले गरेको प्रेस ब्रीफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले अहिले नेपालमा प्रत्येक चार दिनमा सङ्क्रमितको सङ्ख्या दोबर हुने क्रम देखिएको बताउनुभयो।
काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ८४, ललितपुरमा १ सय ८१ र काठमाडौंमा ७ सय ८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५ सय ८२ रहेको सरकारले जनाएको छ।
तीमध्ये संस्थागत आइशोलेशनमा ८ सय ३६ र होम आइशोलेशनमा ९ हजार ७ सय ४६ जना रहेको मन्त्रालये जनाएको छ।
अहिले देशभरि कोभिड भएका १ सय ८० बिरामी आईसीयूमा रहेका र तीमध्ये ४७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
कस्तो छ अहिलेको अवस्था ?
नेपालमा गत साताको तुलनामा १६२ प्रतिशतले सङ्क्रमण बढेको मन्त्रालयले आयोजना गरेको प्रेस ब्रीफिङमा काठमाडौं विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार अहिले विश्वमा २७ प्रतिशतले र भारतमा ३५ प्रतिशतले मात्र साप्ताहिक वृद्धि देखिएको छ।
कोरोनाभाइरसको भारतीय भेरिअन्ट कस्तो हो?
भारतमा अहिले तीव्र गतिमा सङ्क्रमण बढिरहेको छ।
गत वर्ष भारतमा सङ्क्रमण उच्चबिन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि सङ्क्रमण उच्चबिन्दुमा पुगेको मन्त्रालयले जनाएको छ।
यसपालि पनि त्यस्तै अवस्था आउने देखिएको अधिकारीहरूले बताएका छन्।
मृत्युको तथ्याङ्क कस्तो छ ?
मन्त्रालयका अनुसार बुधवार अपराह्णसम्म थप १० जनाको कोभिडका कारण मृत्यु भएको विवरण प्राप्त भएको थियो। तीमध्ये छ जनाको २४ घण्टाको अवधिमा मृत्यु भएको हो।
अहिलेसम्म नेपालमा कोभिडका कारण मृत्यु भएको पुष्टि हुनेको सङ्ख्या ३ हजार १ सय १२ पुगेको छ।
गत वर्ष महामारी सुरु भएदेखि कोरोनाभाइरस पुष्टि भएका बिरामीमा मृत्युदर १.१ प्रतिशत भएको सरकारी तथ्याङ्कले देखाउँछ।
को बढी प्रभावित ?
अहिलेको अवस्था हेर्दा भाइरस समुदायमा द्रुत गतिमा फैलिरहेको देखिएको पनि मन्त्रालयले जनाएको छ।
विवरणअनुसार अहिले २५ देखि ३४ वर्ष उमेर समूहमा बढी सङ्क्रमण भएको देखिएको छ।
हाल ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिलामा सङ्क्रमण देखिएको छ।
महिला र पुरुषको सङ्क्रमण दर नजिक हुँदै जानु भनेको समुदायमा सङ्क्रमण फैलिएको अवस्था आएको अधिकारीहरूले बताए।


















