नासिक,महाराष्ट्र (भारत) । भारतमा महाराष्ट्र राज्यको नासिकस्थित एउटा अस्पतालमा अक्सिजन भण्डारण गरिएको ट्याङ्कीबाट अक्सिजन चुहिएपछि अक्सिजनको अभावमा कम्तीमा २२ जना बिरामीको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दी र बीबीसी मराठीले जनाएका छन्।
उक्त अस्पतालमा १सय ५० जना बिरामी भएको र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको बताइएको छ।
भारतीय समाचारसंस्था एएनआईका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा ट्याङ्करबाट अक्सिजन भर्ने क्रममा चुहावट भएको हो।
अस्पतालमा मृतकका परिवारजनहरू शोकाकुल देखिन्छन्।
चुहिएकाले अस्पतालमा आधा घण्टासम्म अक्सिजनको आपूर्ति अवरुद्ध भएको थियो।
‘प्राविधिकहरूको सहयोगमा चुहावट बन्द गरिसकिएको छ। तर अस्पतालमा अब २५ प्रतिशत मात्र अक्सिजन बाँकी छ’,नासिक नगर निगमका आयुक्त कैलाश जाधव भन्नुभयो।
जाधवले घटनाको अनुसन्धान हुने र दोषीलाई कारबाही गरिने बताउनुभयो।
कोभिडका कारण अक्सिजनको माग बढ्दो
भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मानिसहरू गम्भीर बिरामी हुन थालेपछि अस्पतालमा चाप बढेको र त्यहाँ अक्सिजनको माग धेरै बढेको बताइन्छ।
नासिकमा दैनिक १ सय ३९ मेट्रिक टन अक्सिजन आवश्यक भएको तर ८४ मेट्रिक टन मात्र उपलब्ध हुने गरेको छ।
अस्पतालमा अक्सिजनको अभाव देखिन थालेकाले दिल्ली हाई कोर्टले केन्द्र सरकारलाई अक्सिजनको औद्योगिक प्रयोग गर्न रोक लगाउन निर्देशन दिएको छ।
भारतमा कोभिडको प्रकोप
भारत सरकारले बुधवार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा २ लाख ९५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस पुष्टि भएको थियो।
सो अवधिमा २ हजार २३ जना सङ्क्रमितको मृत्यु भएको थियो।
भारतमा पहिलो पटक एकैदिन २ हजार भन्दा बढी सङ्क्रमितको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
कोरोनाभाइरस अनियन्त्रित रूपमा फैलिन थालेपछि भारतमा धेरै राज्यले लकडाउन गर्ने निर्णय गरेका छन्।(बीबीसीबाट)


















