Prakash Adhikari April 23, 2021

 

काठमाडौं, १० बैशाख । नेपाल पर्वतारोहण संघलाई भारतीय राजदूतावासले एम्बुलेन्स उपलब्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बिहिबार भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामालाई सो एम्बुलेन्सको चावी हस्तान्तरण गर्नुभएको थियो । संघले बिहिबार नै सो एम्बुलेन्स ग्रहण गरी कार्यालयमा ल्याएको छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष लामाले संस्थाको ४८ बर्षको इतिहासमा पर्वतारोही, संघका साधारण सदस्य, कर्मचारी र तिनको परिवार तथा एम्बुलेन्स सेवाको आवश्यकता परेका संस्था तथा व्यक्तिलाई सहुलियत दरमा सेवा उपलब्ध गराउने प्रयोजनको लागि संघको आग्रहमा दूतावासले सो एम्बुलेन्स प्रदान गरेको बताउनु भएको छ ।

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुड.ले सो एम्बुलेन्स हिमाल आरोही, संघका सदस्य,संघका कर्मचारी र तिनीहरुका परिवारका सदस्यहरुलाई सहुलियत दरमा उपलब्ध गराइने बताउनुभएको छ ।

नेपाल पर्वतारोहण संघद्धारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका महासचिव गुरुड.ले दिनुभएको जानकारी अनुसार संघले आरोही र आरोहीका परिवार विरामी हुँदा एम्बुलेन्स निःशुल्क दिने, संघका साधारण सदस्य तथा सदस्यको एकाघरका सदस्य विरामी हुँदा ५० प्रतिशत छुट दिने, संघका पूर्वसल्लाहकार,पदाधिकारी तथा सदस्यहरु एवम् एकाघर परिवारका सदस्यहरु बिरामी हुँदा ५० प्रतिशत छुट दिने र संघ मातहत कार्यरत कर्मचारी र निजको एकाघरका सदस्यहरु बिरामी हुँदा निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।

संघले काठमाडौं बाहिरको हकमा प्रचलित दररेटमा रही आरोही तथा कर्मचारी र निजका एकाघर परिवारका सदस्यहरु विरामी हुँदा ५० प्रतिशत र अन्यको हकमा ३० प्रतिशत छुट दिने निर्णय गरेको छ । सर्वसाधरणको हकमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

संघले एम्बुलेन्स सञ्चालक सामाजिक संस्थाहरुको संगठनले तय गरेको दरलाई नै प्रचलित दर मानेको छ । यस्तो दर दूरीको आधारमा नभई समयको आधारमा निर्धारण हुने बताइएको छ ।

संघले भारतीय राजदूताबासबाट प्राप्त एम्बुलेन्स संस्थाको नाममा दर्ता गरी सवारी नम्बर तथा सञ्चालन अनुमति लिएपछि एम्बुलेन्स सञ्चालनको कार्यविधि पारित गरी एम्बुलेन्स सञ्चालन गर्ने बताएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष लामा र महासचिव गुरुड.ले भारतीय राजदूत क्वात्रा र राजदूतावास परिवारप्रति आभार व्यक्त गर्नुभएको छ ।

 

Share Now

Leave a comment.