Prakash Adhikari May 8, 2021

 

काठमाडौं, २५ बैशाख । लोकतान्त्रिक मूल्य,मान्यता र उत्तरदायी शासन व्यवस्थाको पक्षमा वकालत गर्दै आएको विवेकशील साझा पार्टीले कोरोना भाइरसविरुद्धको खोप खरिद प्रकरणमा छानवीन गरी दोषिमाथि कारबाही गर्न माग गरेको छ ।

उसले कोरोना भाइरस विरुद्धको भारतीय खोप खरिद प्रक्रियामा अवरोध एवम् अन्य मुलुकमा उत्पादित खोप ल्याउन सरकारको अलमलबारे हालै सार्वजनिक समाचार विवरणहरूप्रति गम्भीर चासो र चिन्ता व्यक्त गर्दै चार प्रश्न पनि उठाएको छ ।

सो पार्टीले सरकारले आफ्नो अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता ढाकछोप गर्न आंशिक रूपमा दोषको भागीदार देखिएका व्यापारीहरूको थाप्लोमा सम्पूर्ण दोष थोपरेर आफू चोखिने प्रयत्न गरिरहेको आरोप लगाएको छ।

विपदमा पनि निहित स्वार्थ वा लाभबाट प्रेरित भएर खोप आयातमा अवरोध सिर्जना गर्नु तथा अलमल गर्नु अक्षम्य अपराध भएको बताउदै विवेकशील साझाले खोप प्रकरणमा संलग्न सबैमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्न अनुरोध गरेको छ ।

सो पार्टीका प्रवक्ता शरदराज पाठकद्धारा हस्ताक्षरित विज्ञप्तिमा खोप प्रकरण र कोरोना भाइरसको संक्रमणका कारण देशले भोग्नुपरेको मानवीय तथा आर्थिक सामाजिक क्षेत्रको क्षतिको जिम्मेवारी लिनुपर्ने बताएको छ ।

उसले जनताको अभिभावक व्यापारी होइन सरकार भएको स्मरण गराउदै राज्य शक्ति व्यापारीसँग होइन सरकारसंग भएको स्पष्ट पारेको छ । विवेकशील साझा पार्टीले तसर्थ भारतीय कम्पनीलाई पैसा तिरेर पनि प्राप्त हुन बाँकी १० लाख डोजसहित आवश्यक परिमाणको खोप अन्य मुलुकबाट चाँडो आयात गर्न सरकारसँग माग पनि गरेको छ ।

विवेकशील साझा पार्टीले सरकारसंग चारप्रश्न राख्दै सोधेको छ :

१) महामारीजस्तो राष्ट्रिय । विश्वव्यापी सङ्कटका बेला यदि केही व्यापारीकै कारण खोप खरिद तथा आयातजस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको हो भने ती व्यापारीमाथि किन कारबाही गरिएन ?

२) केही व्यापारीका अगाडि निरीह देखिएर उनीहरूको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन मिल्छ ? फेरी, त्यस्ता व्यापारीहरू सरकार हाँक्ने नेताहरूबाटै संरक्षित छैनन् र ?

३) भारतीय उत्पादकबाट खोप ल्याउन बिचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया समयमै अघि बढाउन चाहिँ सरकारलाई कसले अवरोध गर्‍यो ?

४) प्रधानमन्त्री केपी ‌ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए। मानिलिऊँ, कसैले अवरोध नगरेर भारतबाट थप ५० लाख डोज खोप सहजै आएको भए पनि त्यो प्रधानमन्त्रीले घोषणा गरे अनुरूप बाँकी नेपालीलाई खोप लगाउन पर्याप्त हुने थिएन। बाँकी खोप ल्याउन चाहिँ सरकारले हालसम्म के गरेको छ ?

 

Share Now

Leave a comment.